सामाजिक सञ्जालमा तमासाः दल र दलीय व्यवस्थामाथिकै प्रहार
कृष्ण केसी ।
प्रजातन्त्र जनताद्वारा जनताका लागि गरिने शासन व्यवस्था हो । सबै जनता त्यसमा सहभागी हुन सम्भव नहुने भएकोले जनताद्वारा चुनिएका प्रतिनिधिद्वारा शासन सञ्चालन गर्ने संस्कार शुरु भएको हो । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भने पनि यो व्यवस्थामा दल विहीन शासन व्यवस्थाको कल्पना गर्न सकिँदैन । लोकतन्त्रको विकल्प लोकतन्त्र भएजस्तै दलको विकल्प दल नै हुन् । नेपालमा ऐतिहासिक परिवर्तनमा राजनीतिक दलहरुको महत्वपूर्ण योगदान थियो, छ र रहिरनेछ । २००७ सालदेखि २०८० सम्म आइपुग्दा भएका पटक÷पटकको आन्दोलन र आन्दोलनमा खासगरी नेकपा एमाले र नेपाली कांग्रेसको महत्वपूर्ण योगदान छ । पछिल्लो समय नेकपा माओवादी केन्द्र, मधेशवादी दल र अन्य दलको पनि समय–समयमा भइरहेका आन्दोलन तथा त्यसलाई संस्थागत गर्नेक्रममा भूमिका छ ।
समयक्रममा ७ दल र नेकपा माओवादी नमिलेका भए संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त हुने थिएन । संसदमा मत हालेर राजा हटाएको सायद नेपालमा मात्र हुनसक्छ । संविधानसभा, त्यसबाट जारी संविधान, कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्दा भएको राष्ट्रिय सहमति ऐतिहासिक हो । नेपालमा २०५१ सालमा शुरु भएको सामाजिक सुरक्षाभत्ता छिमेकी मुलुक भारतमा भने २०६२ सालामा मात्र लागू भएको थियो । यी र यस्तै परिवर्तन दलीय व्यवस्था भएकाले मात्र सम्भव भएको हो ।
नेपालमा दलहरु नमिल्दा पटकपटक प्रजातन्त्र खोसिएका उदाहरण हामीसँग छन् । दलहरु नमिल्दा राणा शासन छिटो अन्त्य भएन र पञ्चायत ३० वर्षसम्म चल्यो । संवैधानिक राजाले प्रजातन्त्र खोसे । दलहरु नमिल्दा अहिले पनि लोकतन्त्र विरोधी शक्तिहरु सलवलाएका मात्र छैनन् व्यवस्थामाथि नै धावा बोलिरहेका छन् भने हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका दलहरु एकापसमा कटाक्ष गरिहेका छन् । अझै गर्ने छन र यस्तो लाग्छ यिनीहरु सधँै गरिरहने छन् । बरु दल र दलीय व्यवस्था किन नसकियोस् यिनीहरु यसरी तँछाडमछाड गरिरहेका छन् कि एकले अर्कालाई कसरी सिध्याउने ? यिनका बेमेलका बाछिट्टा सामाजिक सञ्जालमा छताछुल्ल छन् । सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्छ यिनीहरुको दुश्मनी पुस्तौनी हो, जो कहिल्यै मिलेका थिएनन् र मिल्दैनन् । प्रमुख दल नै एक अर्कालाई सिध्याउन सकिन जुनसुकै गठबन्धन र हर्कत गर्न तयार छन् ।
अहिले एकतिर सत्ताधारीहरुको घोषित गठबन्धन छ भने कतिपय मुद्दामा एमाले तथा सत्ताबाहिर रहेका दलहरुको आवाज मिलेको छ । जो जहाँ मिले पनि सामाजिक सञ्जालको रमिता भने उदेकलाग्दो छ । आफूलाई, आफ्नो पक्षलाई राम्रो देखाउन अरुलाई खुइल्याउन प्रयोग गरिएका भाषा र शब्द हेर्दा यस्तो लाग्छ, यिनीहरु आफैँ सकिँदै छैनन् यो व्यवस्था नै सक्दै छन् । टिप्पणीका तुच्छ शब्द हेर्दा यस्तो लाग्छ अब नैतिकता र मानवीयता छैन, समाप्त भइसक्यो । प्रमुख दलहरुले एकअर्काका लागि प्रयोग गरिरहेका शब्द र भावले उनीहरुलाई गिज्जाइरहेको छ । दल र दलीय व्यवस्थामाथि नै प्रश्नचिन्ह् खडा गरेको छ । अरुलाई होच्याएर आफू अग्लो बन्छु भन्ने जुन खेल छ यसमा गोल त कोसैले गर्न सक्दैनन् नै बरु त्यो खेलमैदानमा अरू नै खेलाडी आउन सक्छन् ।
अहिले सामाजिक सञ्जाल विभाजित मात्र छैन विष वमन गरिरहेको छ । यस्तो देखिन्छ, यो मुलुकमा राम्रो पक्ष थिएन, छैन, अब कहिल्यै पनि राम्रो हुनेछैन । प्रयोग भएका शब्द, भाव र आशय यसरी आइरहेका छन् कि प्रमुख दलहरु नै यो देशमा एक अर्काका सबैभन्दा ठूला दुश्मन हुन् । गठबन्धन गरेरै भए पनि एकले अर्कालाई सिध्याउनै पर्छ भन्ने खेल भइरहेको छ । जित्न नसक्ने, नजित्ने, बरु आफैँ सकिने खेलमा प्रमुख दलहरु जसरी लागेका छन्, यसले दलहरु सकिने र परिवर्तन खतरामा पर्ने संकेत देखिएका छन्, जुन राम्रो होइन ।
राजनीतक रुपमा भइरहेका खिचातानीले देशमा आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका पक्षमा भएका काम ओझेलमा परेका छन् । हिजोका परिवर्तन भुलेर सबै दल उस्तै हुन् यिनको काम छैन भन्ने बहस सतहमै आइसकेको छ । अरुलाई सिध्याउने र आफ्नो पक्षको गल्ती–कमजोरी ह्याकुलोले छोप्ने परिपाटीले दलहरुप्रतिको थप अविश्वामा मलजल गरिरहेको छ ।
यस्तो अवस्थामा ७५–८० वर्षको ईतिहास बोकेको नेपाली कांग्रेस र आफूलाई कम्युनिष्ट आन्दोलनको मूलधार भन्ने नेकपा एमाले अझै बढी जिम्मेवार हुनु जरुरी छ । यद्यपि यी दुई दल अहिले सत्ता र प्रतिपक्षमा छन् । त्यो गौण कुरा हो । अहिले गठबन्धन भर्सेस् एमाले, गठबन्धन भर्सेस् गठबन्धन, पुराना दल भर्सेस् नयाँ दल मैदान र सामाजिक सञ्जालमा देखिएका छन् । दलभित्र पनि गुट भर्सेस् गुट र नेता भर्सेस्मा नेता छन् । यिनीहरु कामले होइन अरुलाई गाली गरेर आफू ठूलो र सही देखिन चाहन्छन् । सामाजिक सञ्जालमा देखिएको रमिता हेर्दा यस्तो लाग्छ । दल र नेताप्रति विश्वासको कमी छ । सामाजिक सञ्जालमा मात्र होइन सार्वजनिक समारोहमा पनि आफूले गरेका राम्रा काम र अबको योजनाभन्दा एकले अर्कालाई खुइल्याउने होडवाजी चलेको छ ।
संसारभरिको लोकतन्त्रमा यस्तो हुँदैन । प्रमाण नभएको कुरा बोलिँदैन । कारबाहीको धम्की दिएर कानूनी दायरामा नल्याउने परिपाटी हाम्रोमा छ । अरुलाई कारबाही गर्दा उत्सव मनाउने, आफूलाई पर्दा न्वारनदेखिको वल लगाएर जोगाउने गरिन्छ । यी र यस्ता व्यवहार सङ्घीय लोकतन्त्रमा सुहाउने कुरा होइनन् । हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छाँै, त्यसको अर्थ छाडातन्त्र हो भन्ने बुझाइ छ । के सङ्घीय लोकतान्त्रिक गणतन्त्र जे बोले पनि हुने र जे गरे पनि पाइने व्यवस्था हो ? हाम्रो शैली र व्यवहारले यस्तै देखाइरहेको छ ।
अहिले देखिएको तमासा हेर्दा लोकतन्त्रमा दलको विकल्प दल नहुन सक्छन् । संविधान, कानून र नियमलाई भन्दा भिड र तामसलाई हेरेर गरिने निर्णय र मौनताले लोकतन्त्रलाई बलियो बनाउँदैन बरु अराजकता निम्त्याउँछ । देश बनाउने र नागरिकका समस्या समाधान गर्नेतिर भन्दा एकले अर्कालाई सिध्याउन सामाजिक सञ्जालको प्रयोग गराइएको छ, गरिएको छ । अब पनि नसोच्ने हो भने आगो लागेर घर जलिसकेपछि आइपुगेको दमकल जस्तै हुनेछ हाम्रो गणतन्त्र । यो कुरा हेक्का रहोस् कि सामाजिक सञ्जालमा एकले अर्कालाई गाली गर्दा कोही शक्तिशाली बन्दैनन् बरु देश, सद्भाव र प्राप्त उपलिब्ध धरापमा पर्न सक्छन्, चेतना भया ।
(करिब ३ दशकदेखि पत्रकारितामा सक्रिय कृष्ण के.सी. लमजुङ दर्पण दैनिकको प्रकाशक–सम्पादक हुनुहुन्छ ।)










प्रतिकृया दिनुहोस