क्व्होलासोथारको आँगनमा निर्माणाधीन अस्पतालसंगको प्रेम
सन्तोस सुवेदी ।
कुरा आजभन्दा केही वर्ष अगाडिको हो, जतिबेला एक स्थानीय तह एक आधारभूत अस्पताल भन्ने नारा सुनेर मनमा अनेकन खुसीका रंगहरुसंगै मर्स्याङ्दी नदीको बर्खे भेलजस्तै उर्लिएको हुँदो हो । यसरी उर्लिनुमा मलाई थाह थियो कि हाम्रो जस्तो भूगोलले ठगेको अनि सोही कारणले पूर्वाधारमा भर्खर बामे सर्दै गरेको स्थानका जनताको स्वास्थ्य, शिक्षा, विजुली, बाटोघाटोलगायतको क्षेत्रमा पाएको सास्ती अनि दुःख । यसर्थमा स्थानीय तह २०७४ पछाडि पालिकामा विकासले फड्को नमारेको त होइन तर, पनि यी सव बीचमा धेरै कुराको बाँकी रहँदै गर्दा एकैपटक सहज नहुनु स्वभाविक हो । यी कुरालाई थाँती राख्दै जुन १५ बेडको आधारभूत अस्पतालबारे पोखिने जमर्कोमा छु ।
लमजुङको पश्चिमी भेग पोखराबाट ४०–४५ किलोमिटर दूरीमा रहेको क्व्होलासोथार गाउँपालिका ९, सदरमुकाम बेसीशहरबाट केही कोल्टे परेको स्थान हो । गिलुङबाट पालिका सदरमुकाम मालिङ, बेंसीशहर–डुम्रे हुँदै पोखरा बर्खायामको समयमा मोटरसाइकलमा लगभग १७ घन्टाको यात्रा पक्कै पनि सहज यात्रा होइन । पालिकामा आवश्यक कागजात तयार गरी तत्कालीन वडाअध्यक्षसहित १७ घन्टाको यात्राबाट प्रदेश सामाजिक विकास मन्त्रालयमा पेश गरिएको कागजातको केही महिनापश्चात साल्मेभन्ज्याङ स्वास्थ्यचौकी १५ बेड अस्पतालमा स्तरउन्नति हुने पक्का भएको लिस्टमा नाम कैद भएर रिप्लाइ आएसंगै स्थानीय स्तरमा खुसीको सीमा रहेन ।
हुन त सरकारले घोषणा गरेअनुरुप ‘एक स्थानीय तह एक अस्पताल’ भन्ने नीति अनुरुप यसलाइ कार्यान्वयन गर्ने अनि तोकिएकै स्थानमा अस्पतालको लागि सिफारिस गरिनुमा तत्कालीन पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा, कार्यपालिका लगायतको टिमको महत्वपूर्ण भूमिका रहेको कुरालाई नकार्न सकिँदैन । कमसेकम सुरुवाती चरणमा प्रवेश गर्नु धेरै ठूलो कुरा थियो, सोही अनुरुप देशैभर एकैपटक थुप्रै स्थानीय तह संगै २०७७ मङ्सिर १५ गते १५ बेड अस्पतालको शिलान्यास भयो । शिलान्याससंगै ग्रामीण जनता अधिकांश पुराना पुस्ता, जसले घरको एउटा कुनामा जन्मेदेखि हालसम्म स्वास्थ्य उपचारकालागि भोगिरहेको पीडा अन्त्यको सपना शिलान्यास भयो । सानो भन्दा सानो टेस्ट तथा डाक्टरी सेवा तथा परामर्शको सपनाको शिलान्यास भयो (भलै हाल पालिकाको आफ्नै स्रोतबाट डाक्टरी सेवाको सुरुवात गर्न सफल भएको छ) । १०० रुपैयाँको रगत परीक्षणका लागि २००० रुपैयाँ खर्च गरेर बजार झर्नुपर्ने अन्त्यको सपनाको शिलान्यास भयो भनेर शहरकेन्द्रीत बसाइँसराईउन्मुख गाउँबासीलाई गाउँमै बस्न प्रेरित गर्दै हौसिएर साँधिएका ती सपना अनि उत्साहपन देखेर म एउटा सामन्य स्वास्थ्य सेवा प्रदान गरेर घरघरमा डुलेर स्वास्थ्य अवस्था सुधार गर्छु भन्दै हिँडेको एउटा योद्दा खुसी नहुने कुरै थिएन ।
समय बित्दै गयो, डीपीआर भयो, प्रक्रियागत ढंगबाट टेन्डर आव्हान भएर २०७८ साउन १९ गते निर्माण कम्पनीले कार्यभार गर्ने सम्झौता भयो । स्थानीय नागरिकसंगै स्थानीय सरकार सबैमा आशाको पालुवाहरु पलाउँदै गर्दा आज २०८० साल साउनसम्म आइपुग्दा निर्माण कम्पनीसंगको सम्झौता भइ जिम्मा लिएर सक्नुपर्ने समयको २ वर्ष समयसीमा पूरा भएको छ । आज गाउँका जनताले २ वर्ष अगाडिदेखि बुनेका आशाका किरण, राज्यप्रतिको विश्वास अनि रोपिएका सपनाहरुको कोपिला ठूलो भई फुल्यो त ? अस्पताल कहिले तयार हुन्छ ? कति बनिसक्यो ? जस्ता प्रश्न गर्ने स्तरीकृत अनि सम्पन्नशाली अस्पतालबाट सेवा लिन पर्खिरहेका वृद्ध बाआमाहरुलाई घरमा सेवा दिन जाँदै गर्दा सुतिरहेको बेडबाट काँप्दै सोधिरहेका आवजले मलाई भावुक बनाएको कयौं पलहरु देख्दा सोही सेवाको अभावमा कतिबेला निभ्ने हुन् भन्ने लाग्छ, अनि कहाली लाग्छ । मलाइ आज प्रश्न गर्ने ती तमाम निर्दोष गाउँबासीलाई दिन सक्ने जवाफ छैन, जस्ले एउटा स्वास्थ्य संस्था प्रमुखको नाताले होला म जाबो भुइँमान्छेलाई अनेकन प्रश्नहरु गरिरहँदा मुटुमाथि डुंगा राखेर छिट्टै बन्दैछ भनी विश्वास दिलाउन विवस बनाउँछ अनि एक मनले मलाई मेरो राज्य र सरकारसंग झोँक चलेर आउँछ, कोपरौं जस्तो लाग्छ तर, निरीह छु मेरो सम्पूर्ण आवेग निर्माणाधीन जग बसेर ढलान हुन नसकेर चिच्याईरहेको अस्पताल परिसरमा मात्र सीमित छ । दुःख त यसमा छ, काम गर्दै गरेको दोस्रो निर्माण कम्पनी जस्लाई बेलाबखत कम्पनीबाट अवरोध सिर्जना हुँदो रहेछ जसलाई पटक–पटक आर्थिक अनि मानसिक रुपमा समस्या पैदा हुँदै गर्दा काम अगाडि बढड्न सक्ने अवस्थामा अप्ठ्यारो परिस्थितिसंगै जनताको भावना मरेको छ ।
उसो त निर्माण कम्पनीलाई स्थानीय तह तथा स्थानीय सरोकारवालाको स्तरबाट बारबार ताकेता नगरेको पनि होइन । हेर्दा सामन्य लाग्ने तर व्यहारमा थुप्रै कठिनाईहरु हुँदा रहेछन् । प्रणाली एकातिर, काम एकातिर अनि जनताको मर्म अर्कोतिर भइरहँदा चाहेर पनि यसको समाधान हुन सकेको छैन । ‘विलो टेन्डर’ प्रणाली, एकै कम्पनीलाई धेरै ठेक्का पाउनसक्ने तथा ठेक्का पारेर आफू मातहतका साना ग्रेडका कम्पनीलाई काममा खटाउने जस्ता ठेक्का प्रणाली, काम गराई जस्ता समस्या देखिँदै गर्दा काम गर्देउ भनेर हजारौंपटक हात जोड्नुपर्ने, गुणस्तरको पाटोमा शंका गर्नुपर्ने, अलपत्र पर्छ कि भनी डराइरहनुपर्ने, हजारौं फोनकल दवाव फगत यो कहिलेसम्म ? निर्माण कम्पनीका पनि आफ्नै समस्या होलान्, यसमा दोषी को त ? राज्य कि निर्माण कम्पनी ? कि जनता ? र अस्पताल कहिले बन्छ भन्ने जनताको प्रश्नको उत्तर कस्ले दिने ? यस्को उत्तर खोज्ने प्रयत्नमा छु । सायद धेरै टाढा जानपर्ने छैन ।
सुखदुःखमा रमाइरहेका जनतालाई सपनाहरु देखाएर ती सपनालाई अलपत्र पारी आशालाई खरानी बनाउने काम राज्यको नीति तथा प्रणालीबाट नहोस । र देशैभरका सम्पूर्ण विकट भन्दा विकट गाउँको जनताको गुणस्तरीय स्वास्थ्य सेवामा राज्यको ध्यान केन्द्रीत होस ।
क्व्होलासोथार गाउँपालिका ९, लमजुङ ।










प्रतिकृया दिनुहोस