बेंसीसहरमा अन्तराष्ट्रियस्तरको फिल्मसिटी निर्माण थालिनेछः गुमानसिंह अर्याल
वि.सं. २०२८ सालमा लमजुङको सदरमुकाम कुन्छाबाट सरेपछि बेंसीसहरको विकास सुरु भएको हो । साविकको बेंसीसहर गाविसमा तत्कालीन उदिपुर, गाउँसहर, चण्डिीस्थान गाविस मिसाउँदै २०७१ सालमा बेंसीसहर नगरपालिका घोषणा गरिएको हो । त्यसपछि पुरानकोट र नाल्मा गाविस थप भएकोमा पछिल्लो समय बाँझखेत र चिती गाविसलाई समेत जोडेर संघीय संरचनामा बेंसीसहर नगरपालिका बनाइएको थियो । बेंसीसहर नगरपालिकामा बरिष्ठ अधिबक्ता गुमानसिंह अर्याल निर्वाचित भएपछि उहाँले पहिलो प्राथामिकता सहरका सडकको विकासलाई दिनुभएको छ । बेंसीसहर गाविस अध्यक्षको रुपमा २०४३ र २०५४ सालमा समेत निर्वाचित भई काम गरिसक्नुभएका अर्यालसंग रेडियो चौतारीका समाचार सम्पादक बेलिना थापाले गर्नुभएको कुराकानी ।
प्रश्नः बेंसीसहरको लागि तपाइँ नयाँ जनप्रतिधि हुनुहुन्न । जनप्रतिनिधिमा निर्वाचित भएको ३ दशकपछि पनि जनप्रतिनिधि नै हुनुभयो नि ?
उत्तरः २०४३ मा पञ्चायती शासनविरुद्ध जनपक्षीय उम्मेदवार थिएँ म । निर्वाचित भएँ । २०५४ मा पनि निर्वाचित भएँ । निर्वाचित भएका बखत दुवै समयकाल परितिस्थति बेग्लै बन्यो । चाहेको काम गर्न पाइएन । अहिले पार्टीले पत्यायो । टिकट पाएँ । जनताले निर्वाचित गराउनुभयो । जनताको सेवा र विकासमा लागेको छु ।
प्रश्नः स्थानीय तह गठन भएको २ बर्ष भइसक्यो । विकासका कामहरु कत्तिको पूरा गरेजस्तो लाग्छ ?
उत्तरः जनताका इच्छा र आकांक्षा धेरै छन् । पूरा हुन समय लाग्छ । हामी करीब २० बर्ष जनप्रतिनिधि विहीन अवस्थामा रह्यौं । विकासका जगको सुरुवात भएको छ । अब विस्तारै विकास हुन्छ । विकास हुन लामो समय पनि लाग्न सक्छ । जनताको चाहनालाई हामी पूरा गर्न लागि परेका छौं । विकास सुरुवात भएको छ । हामी जनताको बीचमा पुगेका छौं । हामीले जनताको आवाज सुनेका छौं । दुइवटा आर्थिक बर्षको कार्यक्रममार्फत जनताका काम र विकासको काम एकसाथ लगेका छौं ।
प्रश्नः चुनावका बेला तपाइँले गाउँगाउँमा पुगेर नागरिकसंग भोट माग्दा धेरै बाचा गर्नुभयो होला । ती बाचाहरु पूरा गर्नु भयो ? कि गर्न सक्नुभएन ?
उत्तरः हामीले चुनावी घोषाणा पत्रलाई अगाडि राखेर काम गरिरहेका छौं । घोषणा पत्रमा बेंसीसहर बजारका शाखा सडकहरु कालोपत्रे र ढलान गर्ने भनेका थियौं । दुई आर्थिक बर्षमै लगभग पूरा गरेका छौं । सहरका २५ भन्दा बढी सडक कालोपत्रे गरिसकेका छौं । आन्तरिक रिङ रोडलाई पक्की बनाउने भनेका थियौं र आउटर रिङ रोडको कन्सेप्ट पनि ल्याएका छौं । अन्य कृषि, पशुपालन, विपद् व्यवस्थापनको विषयमा पनि जनताकाबीचमा कुरा राखेका थियौं । आउटर रिङ रोडको ट्रयाक ओपन भएको छ । उदीपुरको खत्रीचौर, मकैडाँडा–पुमागाउँ, रामचोक–तिलाहारको ट्रयाक पनि खोलिसकेको छौं । बेलौतीविसौनामा पुल हाल्न सकेमा नगरपालिकाका आउटर रिङ रोड सबै ठाउँमा मोटर चल्नेछ । विम्दादेखि बाख्रेजतसम्मको ट्रयाक पनि सम्पन्न भइसकेको छ । आन्तरिक रिङरोडको काम भइरहेको छ ।
प्रश्न ः विकास निर्माण भनेको सडक निर्माणमात्रै हो ? सडक निर्माण भएपनि गुणस्तरीय भएनन् भन्ने जनगुनासो छ । के भन्नुहुन्छ ?
उत्तरः जसरी विकास भइरहेको छ, त्यसरी नै तीब्र गतिमा अनुगमन गरिएका छौं । सवै योजनाका अनुगमन भएको छ । हामीले छड्के अनुगमन पनि गरेका छौं । उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति बनेको छ । गुणस्तरीय कायम गर्न उपभोक्ता समिति, निर्माण व्यवसायीलाई भनेका छौं । गुणस्तरमा तलमाथि भएमा कानुन बमोजिम कदम चाल्ने छौं भनेका छौं । सोंचे जस्तो विकास गर्न अझै हामीलाई बजेट अपुग छ । बाटो, मोडल फर्म, सामुदायिक भवन बनाउन सकेका छैनौं । तैपनि उद्यमीलाई सक्रिय बनाउन लागेको छौं । कृषि, पशु, पूर्वाधारको क्षेत्रमा जुटिरहेका छौं । धेरै काम भएका छन् । भइरहेको छ ।
प्रश्न ः तपाइँको ध्यान सडकमा मात्रै देखियो नि । अन्य विकास निर्माणका गतिविधि ओझेलमा परेको हो कि हुँदै नभएको हो ?
उत्तरः सडक विकासको केन्द्रविन्दु हो । सडक भए उपलब्ध स्रोत साधन उपयोग गर्न सकिन्छ । सहज र व्यवस्थित बनाउन सकेमा सडकबाटै जनताले सुविधा लिन सक्छन् । त्यसैले नगरपालिकाले सडकलाई विकासको पहिलो प्राथमिकतामा राखेको हो । अरु क्षेत्रको विकास नभएको होइन । कृषि र पर्यटनलाई उत्तिकै जोड दिएका छौं । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार बनाएको छ । हामीले गाउँगाउँमा होमस्टे संचालन गरेका छौं । होमस्टेसम्म सडक निर्माण गरेका छौं । गाउँगाउँमा सचेतना र तालिम गरेका छौं । खानेपानी, विद्युत, सिँचाईका कामहरु गरिरहेका छौं ।
प्रश्नः बेंसीसहर बजारका भित्रसम्म सडक निर्माण त भए । बेंसीसहर बजारको बीच सडक पनि मर्मत भए । राम्रो भएन भन्ने जनगुनासो छ नि ।
उत्तरः बेंसीसहरको मूल सडक सडक विभागले हेर्छ । यसको कार्यालय दमौलीमा छ । हाम्रै पहलमा बेंसीसहर बजारको मूल सडक ओभरले (कालोपत्रे माथि पुनः कालोपत्रे) भएको छ । मूल सडक संघ सरकारले हेर्ने भएकाले यसको कार्यालय दमौलीमा छ । हाम्रै पहलमा बेंसीसहरमा सडक कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ । अब तनहुँको डुम्रेदेखि बेंसीसहरसम्मका पिच सडकको राम्रो स्तरोन्नति हुनेछ । हामीले निर्माण गरेका सडक, प्रदेशले निर्माण गरेका सडक र संघले बनाएका सडकको हामी आफ्नो तवरबाट अनुमगन गरिरहेका छौं ।
प्रश्न ः विकास निर्माण भनेको सडक, भवन, बाटोघाटो निर्माणमात्रै हो कि, जनताले चौविसै घण्टा खानेपानी र विजुली पनि पाउने ? खानेपानी र विजुलीको समस्या त विकराल छ त ।
उत्तरः हो, खानेपानीका लागि साह्रै समस्या छ । हामीले दमकलबाट समेत पानी वितरण ग¥यौं । खानेपानी तथा सरसफाई उपभोक्ता समिति छ । विद्युतको पनि उपभोक्ता समित छ । जनताको गुनासो पनि उत्तिकै छ । नगरपालिकाले खानेपानी र विजुलीलाई व्यवस्थित गर्न भनेका छौं । ताकेता गरेका छौं । भाचोक खोला बेंसीसहर सहलगानी खानेपानी आयोजना बन्दैछ । समितिले लगानी गर्नुपर्ने भएकाले नगरपालिका नगर विकास कोषको ४ करोड १४ लाखमा जमानी बसेको छ । विजुली र खानेपानी प्राविधिक हिसावले डामाडोल छ । जनताले बिजुली र खानेपानीलाई हस्तक्षेप गर भनेका छन् । ऐन कानुनविना यतिकै हस्तक्षेप गर्न मिल्दैन । छिटो सुधार गर्न भनेका छौं । सुध्रिएन भने त्यसपछि के गर्नुपर्छ विचार गरौंला ।
प्रश्नः शिक्षा, स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकतामा के परिवर्तन भए ?
उत्तरः शिक्षक र व्यवस्थापन समितिका साथीहरु जुटिरहनुभएको छ । विद्यालयमा पहिले लापरबाही थियो । शिक्षक पढाउन जाने थिएन । अहिले विद्युतीय हाजिरी राखेका छौं । शिक्षक नियमित छ । विद्यालयमा सोलार प्यानल छ । विद्यालयमा पठनपाठनबारे अनुगमन भइरहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा लिएको छ । बेंसीसहरका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी छैन । औषधी पाइएन भनेर गुनासो पनि छैन । हामीले स्थानीय पाठ्यक्रम बनाएका छौं ।
प्रश्नः विकासमा नागरिकको सहभागिता, चासो र चिन्ता कत्तिको पाउनुभएको छ ?
उत्तरः एकदम छ । जनता विकास र समृद्धि चाहन्छन् । राज्यले गर्नुपर्ने कामको बारेमा चासो राख्छन् । हामी स्थानीय सरकार हो । हामीलाई भन्न पाउनु उहाँहरुको अधिकार पनि हो । जनता काम गर्न जुर्मुराएका छन् । लागत सहभागिता उत्तिकै छ । जनताको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत बजेट अनुसार बेंसीसहरका भित्री सडकहरु पिच भएका छन् । आन्तरिक रिङ रोड पिच हुने अवस्थामा छ । एकैपटकको बजेटल पुग्दैन । विस्तारै हुन्छ ।
प्रश्नः बेंसीसहर चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्धार हो । अहिले काठमाडौं, पोखराबाट सिधै मनाङसम्म पर्यटक सवारी चढेरै पुग्छन् । पर्यटकलाई बेंसीसहर वा आसपासमा बसाउने कुनै योजना छैनन् ?
उत्तरः धेरै योजना बनाएका छौं । १५ वटा बाटोको डीपीआर भएको छ । ५ वटा पार्कको डीपीआर भएको छ । काउलेपानी माथि ट्रयाक खोल्ने काम भएको छ । गाउँसहर दरबारसम्मको लागि पैसा छुट्याएर सिँढी र रेलिङ निर्माणको काम भइरहेको छ । पुल तथा भवनको काम भइरहेको छ । बराहपोखरी जाने बाटो निर्माण भइरहेको छ । खासुरबेंसीदेखि चित्रेडाँडासम्म बाटो बनाउँछौं । दोर्दी गाउँपालिका, मस्र्याङदी गाउँपालिकासंग छलफल गरिरहेका छौं । विभिन्न ठाउँमा भ्युटावर निर्माण गर्ने तयारीमा छौं । नगरपालिकाभित्रकै ५, ६ वटा गाउँमा होमस्टे संचालनमा ल्याएका छौं । पर्यटक अड्याउने पूर्वाधार तयार गर्दैछौं ।
प्रश्नः यतिले मात्रै पर्यटन प्रवद्र्धन हुन्छ ?
उत्तरः हाम्रै पहलमा करीब ७ बर्षमा निर्माण सक्ने गरी ‘स्मार्ट फिल्म सिटी’ निर्माणको अवधारणा अघि बढाएका छौं । यसको ‘डीपीआर’का लागि ‘फिजिविलिटी’ अध्ययन गर्ने तयारी हुँदै छ । एक बर्षमा डीपीआर सकेर भौतिक संरचना निर्माण थाल्ने प्रक्रिया अघि बढाइएको छ । पूर्वाधार निर्माण सुरु भएको ५ बर्षमा संरचना तयार गरिनेछ । थप २ बर्षमा संरचना निर्माणकार्य पूरा हुने गरी योजना छ । यसका लागि ५ हजार रोपनीमा जग्गा चाहिन्छ । स्मार्ट फिल्म सिटीमा स्वदेशी तथा विदेशी जुनसुकै खालका फिल्म सुटिङ गर्न मिल्नेछ । यसका लागि बेंसीसहर नगरपालिका ३, ४, ५ र ९ मा पर्ने सार्वजनिक जग्गालाई ‘लिज’ मा लिएर अन्तराष्ट्रियस्तरको फिल्म सिटी निर्माण गर्ने तयारी गरेका छौं । प्रारिम्भक अनुमान ५ अर्ब ९० करोड भनिएपनि ‘डीपीआर’ पछि पूर्ण रुपमा लागत अनुमानको हिसावकिताव आउनेछ । फिल्म सिटीमा इटालियन कम्पनीको ८० र नेपाली कम्पनीको २० प्रतिशत लगानी रहेनेछ । सुविधासम्पन्न फिल्मसिटी निर्माण भएपछि अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त फिल्म छायांकन गर्न र सम्पादन समेत गर्न सकिने छ । १६ वटा फिल्म एकसाथ छायांकन गर्न मिल्ने गरी छायांकनस्थल बनाइने भएको छ ।
प्रश्नः अब तपाइँको कार्यकाल २ बर्ष बाँकी छ । तपाइँको कार्यकाल सकिँदा सम्म हामीले बेंसीसहरलाई कस्तो देख्न पाउँछौं ?
उत्तरः बेंसीसहरका सवै सडक पोलमा बत्ति बल्नेछ । बेंसीसहरमा धुले सडक हुँदैन । विद्यालय व्यस्थित हुन्छ । स्वास्थ्य, खानेपानीको, सडक, कृषिको राम्रो व्यवस्था हुनेछ । हरेक गाउँ पर्यटकीय गाउँ हुनेछन् । ती गाउँसम्म पुग्ने बाटो सके पिच, नसके ग्राभेलसम्म हुनेछन् । जनताको घरघरमा तरकारी फल्नेछन्, दूधघ्यु उत्पादन हुनेछन् । बजारमा ल्याएर बेचेर आम्दानी लिनेछन् । गाउँका घरघरमा स्वास्थ्यकर्मी पुग्नेछन् । वडा–वडामा हेलिप्याड निर्माण हुनेछन् । जनता सचेत हुनेछन् । गाउँको विकासमा गाउँले आफैं लाग्नेछन् ।
प्रश्नः गण्डकी प्रदेश सरकारले समृद्धिको पहिलो आधार पर्यटनलाई लिएको छ । पर्यटन प्रवद्र्धनबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
उत्तरः किन नहुने, अवश्य हुन्छ । अहिले घलेगाउँमा आन्तरिक र बाह्य पर्यटक ओइरिएको छ । स्थानीयको आयस्तर बढेको छ । काउलेपानीमा उत्तिकै पर्यटक आउँछन् । फिल्म सिटी निर्माण थालिएपछि यतिकै पनि पर्यटक आउँछन् । आम्दानी पनि उत्तिकै हुनेछ । पूर्वाधार निर्माण गर्न सक्यौं भने पर्यटक आउँछन् । हामीले पर्यटनको पूर्वाधार बनाउनुपर्छ । यसले मनग्य आम्दानी दिन्छ । यो नै हाम्रो समृद्धिको बाटो हो ।
प्रश्नः प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण बर्ष घोषणा गरेको छ । बेंसीसहर नगरपालिकाले पर्यटन प्रवद्र्धनका कार्यक्रम केके गरेका छन् ? अहिले चलेको होमस्टेको लहरलाई कसरी लिनुभएको छ ?
उत्तरः होमस्टेको लहर मात्रै होइन । यसले स्थानीयको आयस्तर बृद्धि गर्न सुरु गरिसकेको छ । हिजो ५ रुपैयाँको मुख देख्न समेत मुस्किल हामी, अहिले सहकारी र बैंकमा पैसा राख्न सक्ने भएका छौं । होमस्टे प्रवद्र्धनबाट हाम्रो संस्कृतिको संरक्षण र संवद्र्धनमा टेपा पुगेको छ । रक क्लाईम्बिङ, ¥याटिफ्ङ र प्याराग्लाईडिङको लागि योजना बनाएका छौं । यसको सम्भावित अध्ययनका लागि बजेट छुट्याएका छौं । पुरानोकाटेमा रक क्लाईम्बिङ, पुमागाउँ, गाउँभाचोक र मकैडाँडाबाट प्याराग्लाइडिङ, बेलौतीविसौनाबाट ¥याफ्टिङ भइरहेको छ ।








प्रतिकृया दिनुहोस