आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

सुशासन, विकास र समृद्धि नै मर्स्याङ्दी गाउँपालिकाको पहिलो प्राथामिकताः अध्यक्ष अर्जुन गुरुङ

पर्यटकीय जिल्ला लमजुङ ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका हो, मर्स्याङ्दी गाउँपालिका । यसलाई पर्यटकीय गाउँपालिका भनेर चिनिन्छ । यो  गाउँपालिका साविकका ७ वटा गा.वि.स (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) मिलेर बनेको हो । यसको क्षेत्रफल ५९७.२५ वर्ग कि.मि. छ । यसको पूर्वी सिमाना दोर्दी गाउँपालिका, पश्चिमः क्व्होलासोंथर गाउँपालिका, दक्षिणः बेसिशहर नगरपालिका छ । उत्तरी सिमानामा मनाङ जिल्लाको  नासों गाउँपालिका रहेको छ । घनपोखरा, हनी हन्टीङ् थाम्रोयु, सिउरुंङ होमस्टे, विरभक्ती थापा पार्क, स्याँगे झरना, जगत तातोपानी कुण्ड, रक गार्डेन, चिप्ला क्यानोनिङ्, बाहुनडाँडा तातोपानी कुण्ड, राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मस्थल, बराह पोखरी, डा.हर्क गुरुङ समाधी स्थल, सुरुङमार्ग, भुस्मे तामाङ होम स्टे, गाईखुरेश्वर महादेव, सिद्ध कोटकालिका पर्यटकीय केन्द्र समेटिएको यस पालिका को जनसंख्या करिब १८७५९ जना रहेको छ । गाउँपालिकामा ४ हजार ४ सय ९ घरधुरी छन् । ९ वटा वडा कार्यालय भएको यस पालिका केन्द्र ८ नं. वडा अन्तर्गत भुलभुलेमा रहेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङसंग लमजुङ सम्पादक बेलिना थापाले गरेको कुराकानी । 

 

जनप्रतिनिधिमा निर्वाचित भएपछिको ३ बर्षलाई कसरी अनुभव गर्नुभएको छ ?
गुरुङः जब निर्वाचित भए, जनताको सेवा गर्ने अवसर प्राप्त भएको महसुस भएको छ । जनताको जिविका र रोजगारीको कुरा, सुशासनको कुरा, विकास निर्माणका कुरा अनि विकास र परिवर्तनका कुराहरु नै जनप्रतिनिधिहरुको मुख्य जिम्मेवारी र दायित्व हुनु पर्दछ । यसैको सफलताको लागि निरन्तर लाग्दा अनि त्यसमा प्राप्त भएको सफलता र परिवर्तनमा सन्तुष्टि प्राप्त हुँदो रहेछ । एक जनप्रतिनिधी हुनाको नाताले जनताको सन्तुष्टिमा मात्र आफूलाई सन्तुष्टि प्राप्त हुँदो रहेछ भन्ने महसुस भएको छ ।      
तपाइँ अध्यक्ष भएपछि नागरिकले कस्तो महसुस गरेको पाउनुभएको छ ?
गुरुङः जनताले अनुभूति गर्ने कुराले नै हाम्रो सफलता र जिम्मेवारीको प्रभावकारिता निर्धारण गर्ने गर्दछ । त्यसैले जनप्रतिनिधी हुनुको नाताले सधंै जनताले कस्तो महसुुस गरिरहेको छ भन्ने कुरा हेक्का राख्नु हाम्रो दैनिकी नै हो । मेरो प्राथमिकता सुशासन, विकास अनि समृद्धि नै हो । यसमा स्थानिय तहको अधिकार, क्षमताले भ्याए सम्मको प्रयत्नहरु निरन्तर गरिरहेका छौँ । यो झण्डै ३ वर्षको अन्तरालमा जे जति प्रयत्नहरु हामी गरि रहेका छौँ, जनताले सकरात्मक रुपमा लिईरहेको छ । परिवर्तन र विकासको अपेक्षासहित मस्र्याङ्दी गाउँपालिकाका जनताहरुको सहभागिता उत्साहजनक पाएको छु ।

 

संघीयतालाई व्यवहारमा उतार्न तपाइँलाई के कस्ता समस्या र चुनौति झेल्नुपरेको छ ?
गुरुङः
पहिलो कुरा त हाम्रो देशमा संघीयताको कार्यान्वयन पहिलो पटक हुँदैछ । स्वभाविक रुपमा पहिलो पटक संघीयता लागु भएको र शुरुवाती समयमा भएको कारण पनि संघीयताको भावना अनुकुल राज्यको व्यवस्था भईसकेको पनि छैन । कतिपय कामहरु बाँकी नै छ । थुप्रै संबैधानिक व्यवस्था हुन बाँकी रहेको अवस्थामा स्वभाविक रुपमा स्थानिय तहहरुमा संघीयतालाई व्यवहारमा उतार्ने कुरा चूनौतिपूर्ण नै हुन्छ भन्दा अस्वभाविक नहोला । तथापी संघीय सरकारले संघीयताको भावना अनुरुप स्थानिय तहलाई जसरी मजबुत र अधिकार सम्पन्न बनाउनु पर्ने हो, जसरी सिँहदरबारको अधिकार गाउँ गाउँमा भने जस्तै स्थानिय तहलाई श्रोत, साधन, कार्यक्षेत्र र अधिकारको दृष्टिकोणबाट अधिकार सम्पन्न बनाउनु पर्ने हो सोही बमोजिम हुन नसकिरहेको कारण समस्या र चुनौतिहरु महसुस भईरहेको छ । 

 

गाउँपालिकाको दीर्घकालीन विकास र समृद्धिको लागि के कस्ता आधारहरुको तयारी गर्नुभएको छ अथवा तयारीमा लाग्नुभएको छ ?
गुरुङः
स्वभाविक रुपमा समृद्धि र विकास छोटो समयमा नै प्राप्त हुने कुरा पनि होईन । यसको निम्ति अल्पकालीन र दिर्घकालीन योजनाहरुसहित निरन्तर प्रयत्न हुन जरुरी छ । यस मस्र्याङ्दी गाउँपालिकाको सन्दर्भमा हामी पनि थुप्रै योजनाहरुका साथ लागि रहेका छौँ । कृषि, पर्यटन र जलस्रोतको प्रचुर सम्भावना भएको यस गाउँपालिकालाई मुख्य गरि कृषिको सम्भाव्यता अध्ययन गरि योजना निर्माण गरि अगागी बढी रहेका छौँ । हामीसँग भएका ति सवै जमिनहरुलाई हराभरा बनाउने र ति लेक, खर्कहरुमा ठूलो स्तरमा व्यवसायीक खेती गर्ने योजना सहित अगाडी बढी रहेका छौँ । त्यस्तै पर्यटनको पनि प्रचुर सम्भावना भएको पालिका पर्दछ हाम्रो मस्र्याङ्दी गाउँपालिका । थुप्रै मनोरम झरनाहरु, होमस्टे गाउँ, पोखरीहरु, कला संस्कृतिका धनि, हिमाल पारीको जिल्लाको रुपमा चिनिने मनाङ जाने विश्व प्रशिद्ध अन्नपूर्ण पदमार्गको प्रवेश स्थल थुप्रै आन्तरिक तथा बाह्र्य पर्यटकहरु भित्र्याउन सकिने अवस्था रहको यस पालिकाको आर्थिक समृद्धिको लागि पर्यटन व्यवसायलाई  व्यवस्थित गर्दैछौँ । पालिकाको तमाम पर्यटकीय गन्तव्यहरुलाई चिनाउन विभिन्न डकुमेन्ट्रीहरु, ब्रोसर, म्युजिक भिडियोहरु समेत निर्माण गरि व्यापक प्रचारमा जोडिएका छाँै । जलश्रोतको धनि यस पालिकालाई जलविद्युत लगानी मैत्री वातावरण तयार गर्न नितीगत व्यवस्था गरेका छौँ । जलविद्युत आयोजनाहरुमा स्थानिय रोजगारीलाई जोड्ने कुरा स्थानिय उत्पादनलाई जोड्दै कृषि प्रवद्र्धनमा समेत वढवा दिने कुरामा जलश्रोत क्षेत्रलाई समेत महत्वपूर्ण ठानेका छौँ । शिक्षा स्वास्थ्य जस्ता जनतासँग प्रत्यक्ष जोडिने कुराहरुलाई संवेदनशिल भएर हेरेका छौँ । २५ बुँदे शैक्षिक घोषण गर्दै शिक्षाको विकासमा निरन्तर लागि रहेका छौँ । परिवर्तनको अनुभुति भईरहेकोछ । आर्थिक र पूर्वाधार विकास सँगै सामाजिक विकासको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरुका साथ लागिरहेका छौँ ।    

 

बजेट र कार्यक्रमको तारतम्य मिलाउन के कस्ता प्रयासहरु गरिएका छन् । 
गुरुङः
निती तथा कार्यक्रमका आधारमा नै बजेट तयार गर्ने हो र बजेट निर्माणका लागि पहिला राम्रो निति तथा कार्यक्रम तयार गर्न जरुरी छ । त्यसैले हामी पहिला पालिकाको सन्दर्भ र बस्तुस्थितिको आधारमा अनि जनताको चाहना र आवश्यकताको आधारमा निति तथा कार्यक्रम तय गर्दछौँ । सोहि बमोजिम हामीलाई प्राप्त श्रोतका  आधारमा बजेट निर्माण गछौँ त्यसैले यसको तारतम्य मिलाउन सहज भई रहेको छ । आफ्नौ श्रोत साधन बढाउने कुरामा पनि पालिकाको ध्यान गएको छ ।  

 

खानेपानी, स्वास्थ्य, शिक्षाका समस्या र प्रयासहरु के भइरहेका छन् ?
गुरुङः
खानेपानी, स्वास्थ्य र शिक्षा जनताको पहिलो प्राथमिकताको विषय हो । खानेपानी योजनाको लागि संघ र प्रदेश सरकारहरुबाट पनि सहयोग र योजनाहरु प्राप्त भईरहेको छ । हामीले थप योजनाहरु समेत बनाएर एक घर एक धाराको योजनालाई अगाडी बढाई रहेका छौं । स्वास्थ्य संस्थाहरुको व्यवस्थापनमा विशेष ध्यान दिईएको छ । शिक्षाको विकास बिना कुनै पनि विकास र परिवर्तन सम्भव छैन भन्ने निष्कर्षका साथ शिक्षाको विकासमा पालिकाले आवश्यक बजेट विनियोजन गर्दै कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौं । 

 

कृषि, पशुका क्षेत्रमा के कस्ता कार्यक्रमहरु छन् ? यसलाई स्वरोजगारसंग कसरी जोड्नुभएको छ ?
गुरुङः
कृषि यस मर्स्याङ्दी गाउँपालिकाको एक महत्वपूर्ण सम्भावनाको क्षेत्र भएकोले पालिकाको विशेष योजनाका साथ कृषिलाई अगाडी बढाईएको छ । सोही बमोजिम बजेटको व्यवस्था र आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको छ । कृषि उत्पादनको बजारीकरणको व्यवस्था गरिएको छ । आत्मनिर्भर हुँदै व्यवसायीक उत्पादनमा जोड दिईएकोछ जसले गर्दा रोजगारीको व्यवस्थापन स्वत भएको छ । यूवाहरुको कृषि व्यवसाय तर्फको आकर्षण बढदै गईरहेकोले स्वत यूवा रोजगारी जोडिदै गईरहेको छ । 

 

चालु आर्थिक बर्षका योजना के कस्ता छन् ?
गुरुङः
यस आर्थिक वर्षको योजनाहरु मूख्य गरि पूर्वाधार निर्माणमा विनियोजन भएको छ । विशेष गरि सडक, सामुदायिक भवन, सिँचाई, खानेपानी पर्दछ । त्यसको अलवा शिक्षा स्वास्थ्य कृषि विकास कार्यक्रम र सामाजिक विकासका कार्यक्रमहरुमा समेत बजेटले प्राथमिकतामा राखेकोछ । सिपबिकास कार्यक्रम र क्षमता विकासका कार्यक्रमहरु पनि यस आर्थिक वर्षको योजनाहरुमा पर्दछ । 

 

अघिल्लो आर्थिक बर्षदेखि कोरोना संक्रमणको जोखिम बढ्यो । यो बेला नागरिकलाई राहत र कोरोनाबाट बचाउन गाउँपालिकाको भूमिका कस्तो रह्यो ?
गुरुङः
जनताको सुरक्षा राज्यको पहिलो प्राथमिकता हुन आउँछ । त्यसैले नेपालमा कोरोना संक्रमणको शुरुवात सँगै मस्र्याङ्दी गाउँपालिकाले विपद् व्यवस्थापन समिति र कोषलाइ नितीगत रुपमा मजबुत बनाउँदै उद्धार, उपचार र राहतका कार्यक्रमहरुलाई व्यवस्थित बनाईएको छ । अस्थायी कोभिड अस्पताल स्थापना, राहत वितरण, स्थास्थ्यकर्मीहरुको मनोवल बढाउने र संक्रमणको रोकथामका लागि कडाईका साथ टोल विकास संस्था अनि विभिन्न सामाजिक अभियन्ताहरुको समेत सहयोग र सहकार्यमा प्रभावकारिता साथ कार्यक्रमहरु ग¥यौं । आज यतिखेर सुखद पक्ष भन्नु पर्छ यस मर्स्याङ्दी गाउँपालिकामा कोरोनाको सक्रिय संक्रमित पुष्टि शून्य छ । तथापी यो महामारीबाट जोेगिनको लागि स्वास्थ्यका मापदण्डहरुलाई पूर्ण रुपमा अवलम्बन गर्ने कुरालाई विभिन्न माध्यमबाट लागि कडाईका साथ कार्यन्वयन गरिएको छ । 

 

तपाइँले ५ बर्षमा तपाइँको गाउँपालिकालाई बनाउन चाहेको कस्तो हो ? एउटा भिजन हुन्छ नि ?
गुरुङः
‘समृद्ध, आधुुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार, कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ यो नै मर्स्याङ्दी गाउँपालिकाको सम्भावना वा अवसर वा भिजन भनौँ रहेको कुराको निष्कर्षका साथ तमाम मर्स्याङ्दी गाउँपालिका वासीहरुको साथ समर्थन, सहकार्य र समन्वयमा गाउँपालिकाले स्पष्ट योजना र दृष्टिकोणका साथ अगाडी बढिरहेको छ । मलाई पूर्ण विश्वास छ, यहि मान्यताका आधारमा मस्र्याङ्दी गाउँपालिकाको समृद्धि हामी प्राप्त गर्न सक्दछौँ । 

प्रतिकृया दिनुहोस