आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

हो, यही कारण मेरो जित सुनिश्चित भइसक्योः श्रीकृष्ण लामिछाने

श्रीकृष्ण लामिछाने व्यवसायीमाझ परिचित नाम हो । भोर्लेटारमा जन्मिनुभई बेंसीसहरलाई कर्मथलो बनाउँदै आउनुभएका उहाँ लमजुङ उद्योग बाणिज्य संघको अध्यक्षका दाबेदार हुनुहुन्छ । यही पुस २५ गते हुने संघको १९ औं महाधिवेशनमा उहाँ प्रगतिशील समूहको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिनुभएको छ । आइटी क्षेत्रका दख्खल व्यवसायी  श्रीकृष्ण लामिछानेसंग रेडियो चौतारीका समाचार तथा कार्यक्रम प्रमुख अनुज अधिकारीले लिएको अन्तरबार्ताको सम्पादित अंश ।

 

प्रश्नः उद्योग बाणिज्य संघको निर्वाचन नजिकिँदै छ । अध्यक्ष पदमा निर्वाचित हुनको लागि तयारी कस्तो छ ?
लामिछानेः पुस २५ गते लमजुङ उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । यसमा मैले अध्यक्ष पदका लागि उमेदवारी दिएको छु । अहिले मतदातासंग, व्यवसायीसंग भेटघाटमा छु । घरदैलो अभियानमा छु । एक चरणमा हामी उमेदवार छनौट प्रक्रियामा घरदैलो पुग्यौं । अहिले दोस्रो चरणको घरदैलोमा लागेका छौं । घरदैलोमा पुग्दा सवैको आश्वासनले निकै खुसी लागेको छ । 

 

प्रश्नः यसपटक निर्वाचन पनि अलि फरक छ क्यारे ? तपाइँको समूहले कसरी व्यवस्थापन गरेको छ ?
लामिछानेः पहिले सबै व्यवसायी बेंसीशहर बोलाइन्थ्यो । एकै ठाउँमा कार्यक्रम र निर्वाचन हुन्थ्यो । अहिले कोरोना भाइरस संक्रमणका कारण इकाईमै हुँदै छ । सबैलाई बोलाउन गाह्रो पनि छ । सोही अनुसार निर्वाचन मण्डलले निर्वाचनको तय गरेको छ । पुस २५ गते जिल्ला र इकाईमा एकैपटक निर्वाचन हुन्छ । हरेक इकाईमा हाम्रा उम्मेदवार छन् । हाम्रा उम्मेदवारलाई जिताउन हरेक तप्का लागि परेका छन् । जिताउँछन् पनि । 

 

प्रश्नः यसअघि पनि महासचिव भइसक्नुभएको हो तपाइँ । संघमा रहँदाको अनुभव पक्कै होला । अहिले अध्यक्ष पदकै लागि तपाइँको उमेदवारी किन ?
लामिछानेः मैलै ३ बर्ष लमजुङ उद्योग वाणिज्य संघमा महासचिव भएर काम गरें । केही काम गरियो । केही काम गर्न बाँकी छ । म आइटी फिल्डको मान्छे । प्रविधिसंग जोडिनु पर्छ भन्ने मान्यता मेरो हो । व्यवासायलाई प्रविधिसंग नजिक र प्रविधिमैत्री बनाइनुपर्छ भन्ने हो । प्रविधिले कामलाई छिटोछरितो र पारदर्शी बनाउँछ । यो संस्था साझा संस्था हो । संघ र व्यवसायीलाई सबैभन्दा पहिला प्रविधिसंग जोड्न लाग्नेछु । अहिले प्यान, भ्याटको काम घरबाटै हुन्छ । कतिपय व्यवसायीलाई थाहा छैन । तालिम, ज्ञानको अभाव छ । व्यवसायीले उद्योग वाणिज्य संघ हाम्रो संस्था हुन सकेन, घरदैलोमा आएन भन्ने गुनासो गरेका छन् । यसलाई चिर्नको लागि मेरो उमेदवारी हो । 

 

प्रश्नः अध्यक्ष पदमा चुनाव लड्ने तपाइँको रहर कि बाध्यता ?
लामिछानेः मलाई सामाजिक काम गर्ने रहर छ । गरिहेको पनि छु । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छु । रोटरी क्लबमा आवद्ध छु । नेपाल पत्रकार महासंघ लमजुङको उपाध्यक्ष पनि भएँ । सहकारी क्षेत्रमा पनि छु । विभिन्न सामाजिक संस्थामा रहें । सामाजिक क्षेत्रको रुची छ । सामाजिक क्षेत्रमा प्रविधिलाई भित्र्याउनुपर्छ भनेर लागेका छु । हामी लमजुङेलाई प्रविधिबारे सुसूचित गराउन आवश्यक छ । म बेंसीशहर आएको २५ बर्ष भयो । कम्प्युटर एसोसिएसन नेपाल (क्यान)को संस्थापक अध्यक्ष समेत भएँ । प्रविधिमैत्री जिल्ला बनाउन पहल गर्नेछु । 

 

प्रश्नः मतदाताको घर पुग्दा कस्तो अनुभव गर्नुभएको छ ? के व्यवसायी खुसी छन् ?
लामिछानेः उद्योग वाणिज्य संघ साझा संस्था भएन भनेर धेरै व्यवसायीको गुनासो छ । कोरोना संक्रमणको जोखिमका बेला संघले केही काम गरेन भन्ने गुनासो छ । अझ आर्थिक पाटोमा पारदर्शीता भएन भन्नेको संख्या ठूलो छ । केही सीमित व्यक्तिको हितका लागि मात्र भयो, आर्थिक पारदर्शी भएन भन्ने गुनासो सर्वत्र छ । आर्थिक प्रतिवेदन हेर्दा पनि प्रश्न उठाउने धेरै ठाउँ छन् । पारदर्शीता मेरो पहिलो शर्त हो । यसैका लागि मेरो उम्मेदवारी हो । 
लमजुङ महोत्सव २०७३ भयो । म नै महासचिव थिएँ । ७४ लाख कारोबार भयो, ३१ लाख नाफा भयो भनिएको थियो । २÷३ लाख उठ्न बाँकी छ भनियो । २०७५ मा महोत्सव हुँदा ८४ लाख कारोबार र नाफा २१ लाख देखाइयो । नगद ८ लाख उठेको र अरु उठ्न बाँकी भनियो । 
सबै पदाधिकारीले कर्मचारीको नाममा पेश्की लिने चलाउने पनि भयो । सदस्यता शुल्क उठाएर लिने र घरमा चलाउने पनि ग¥यो । १ बर्षपछि तिरेको प्रमाण छ । ५ लाख २४ हजार १ सय रुपैयाँ त २०७६ मसान्तसम्म कर्मचारीको नामबाट जम्मा गरेको छ । संस्थाको पैसा आफ्नो लागि चलाउन पाइन्छ ? त्यहि पनि जिम्मेवार पदाधिकारीले । यसैलाई त आर्थिक अनियमितता भनिन्छ । पारदर्शीता छैन । यसलाई चिर्न म लागेको छु । कसैको ध्यान पुगेको छैन । २ वटा महोत्सव र ३ वटा लेखा परीक्षण प्रतिवेदन अध्ययन गर्दा सबै देखिन्छ । एउटै व्यक्तिले एकै दिनमा १५ लाख सापटी लिएको छ । संस्थाको नियम विपरित काम भएको छ । व्यक्तिगत स्वार्थका लागि गरेको छ । नाङ्गै हुने गरी काम गरेको छ ।

 

प्रश्नः तपाइँ अध्यक्षमा निर्वाचित भए आर्थिक अनियमितता हट्छ ?
लामिछानेः एकदम । अध्यक्षमा निर्वाचित भएपछि पहिलो काम भनेको आर्थिक पारदर्शीता बनाउनेछु । आइटी प्रणाली । मैले बेंसीसहर आएर २० बर्ष व्यवसाय गरें । व्यवसायले पुगेको छ । कुनै अनियमितता गर्न परेको छैन । लोभ पनि लाग्दैन । ठुलो खर्च पनि छैन । म व्यवसायीको विश्वासको पात्र बन्नेछु । आर्थिक अनियमितता हटाउन उमेदवारी हो । म आफू पनि गर्दिन । अरुलाई पनि गर्न दिन्न । 
अर्को भनेको एउटा वेवसाइट डिजाइन गर्छु । डाटाबेससहित व्यवसायीको डाटाबेस अपटुडेटका लागि । यसले आर्थिक पाटो पारदर्शी हुन्छ । व्यवसायीको सामुदायिक बीमा गर्छु । घरमै बसेर हेर्न सकिने छ सबै कुरा । म महासचिव हुँदा कुरा निकालेको थिएँ । तर काममा सहयोग भएन । कसैको सहयोग नहुँदा काम बनेन । म निर्वाचित भए पक्का हुन्छ । 

 

प्रश्नः भनेसी उद्योग बाणिज्य संघ नियमसंगत चलेन । यही हो ?
लामिछानेः आम लमजुङे व्यवसायीले हाम्रो अभिभावकत्व ग्रहण गरेमा पहिलो काम आर्थिक पारदर्शीताको हुनेछ । व्यवसायीले अहिलेसम्म संघले केही गरेन भन्ने गुनासो गरेका छन् । नेतृत्व गर्नेले आफ्नो स्वार्थ मात्रै हे¥यो भन्ने छ । सदस्यहरुको स्पाइरल ८ वटा इकाइकै छ । त्यहाँ कम्तिमा १ सय ठाउँमा टिपेश लगाएको छ । त्यसै भनेको होइन, हेरेर भनेको छु । अहिलेको नेतृत्वको ३ बर्षे कार्यकाल कस्तो भयो, देख्न सकिन्छ । नागरिक सुसूचित हुनुपर्छ । साधारणसभा पुष १८ मा प्रतिनिधिमूलक गर्ने भनेको थियो, खोइ भएको ? पूर्व महासचिवले प्रतिवेदन पाउनु पर्दैन ? मेरो त पहुँच छैन भने अन्य व्यवासायीको मर्का कस्तो होला ? अनुमान लगाउन सक्छौं । 

 

प्रश्नः अहिलेको समितिले काम गर्न सकेन, काम गर्न सकेन भन्नु खोज्नुभएको हो ?
लामिछानेः कानमा तेल होलेर बस्यो । सुतेरै बस्यो । कोरोनाको बेला कहाँकहाँ जानुभयो ? व्यवसायीका लागि के गर्नुभयो ? व्यवसायीको समस्या मर्का खोई बुझेको ? त्यो चिर्नका लागि म निर्वाचनमा जाँदैछु । सबैले सहयोग गर्नुहुने छ भन्ने आशा छ । व्यवसायीलाई सचेत गराउँछु । 

 

प्रश्नः संघमा राजनीति भयो, संघलाई राजनीतिक रुपमा हेरियो भन्ने पनि छ नि ?
लामिछानेः व्यवसायीहरु चुनावमा सक्षम र सवल व्यक्ति छान्ने कुरामा सचेत छन् । लमजुङ उद्योग बाणिज्य संघ व्यवसायीको साझा संस्था हो । यसमा राजनीतिको कुरा आउँदैन । राजनीति गर्ने भए म व्यवसायी बन्ने थिएन । केहीले संघलाई राजनीति गर्ने थलो बनाए । म संस्थाभित्र राजनीति गर्दा पनि गर्दिन, अरुलाई पनि गर्न दिन्न । म विशुद्ध व्यवसायी हुँ । प्रविधिसंग नजिक भएका व्यक्तिले नेतृत्व लिएमात्र पारदर्शी हुन्छ भन्ने बुझाई पनि आम मतदाताको पाएको छु । जित सुनिश्चित छ ।

 

प्रश्नः संघले पर्यटनको क्षेत्रमा के कस्ता काम गरेका छन् जस्तो लाग्छ ?
लामिछानेः लमजुङ घरबास (होमस्टे) को हव हो । पर्यटकीय जिल्ला हो ।  पर्यटकीय तथा ऐतिहासिक स्थल छन् । यसका लागि सुरुमा केही काम भएको थियो । पछिल्लो समय भएन । ज ितगर्न सकिन्थ्यो, त्यति भएको छैन । ओडीओपी कार्यक्रम अन्तर्गत सरकारले ६० लाख रुपियाँ अनुदान दिएको थियो । उद्योग सञ्चालनका लागि भवन बनेको छ । उद्योग सञ्चालन भएको छैन । पहल पनि भएको छैन ।

 

प्रश्नः यदि तपाइँ अध्यक्षमा निर्वाचित भएमा के कार्यक्रम ल्याउनुहुन्छ ?
लामिछानेः लमजुङको घरवास त्यति प्रवद्र्धन भएको छैन । मलाई मतदाताले पत्याएमा होमस्टेलाई अझ उकास्ने काम गर्छु । कोरोना संक्रमणका कारण समस्यामा परेका व्यवसायीको मर्का बुझ्ने र समाधानका पहल गर्नेछु । लमजुङमा धेरै जलविद्युत आयोजना निर्माण भएका छन् । निमार्णधीन अवस्थामा छन् । लमजुङलाई जलविद्युत अध्ययनको केन्द्र बनाउनको लागि पहल हुनेछ । यसले देश र देश बाहिरका पर्यटक ल्याउन सकिन्छ । जिल्लाको आर्थिक विकासमा टेवा पुग्छ । यस्तै, लमजुङ अन्नपूर्ण पदमार्गमा पर्छ । पदमार्ग जाने आन्तरिक तथा बाह्य पर्यटकलाई बसाउन सकिए पर्यटन व्यवसायमा ठूलो सहयोग पुग्छ । ओभिओपी कार्यक्रम अन्न्तर्गत बेंसीशहरदेखि गाउँशहरसम्म जाने २ सय मिटरको सिँढी निर्माण गरिएको छ । यसलाई निरन्तरता दिन सकेको छैन । मोटरबाटो बनेको छ । लमजुङ कालिका पर्यटकीय र ऐतिहासिक स्थल हो । त्यहासम्म पुग्नको लागि आकर्षकको खाल सिँढी बनाउन पहल हुन्छ । पर्यटकको बसाइलाई लम्ब्याउनको लागि हरेक इकाइसंगको समन्वयमा पदमार्गहरु जोड्ने काममा लाग्नेछु । प्रत्येक इकाईको समस्या समाधान गरिने छ । व्यवसाय प्रवद्र्धन र पर्यटन प्रवद्र्धन गरिने छ । संघ र व्यवसायलाई प्रविधिमैत्री, आर्थिक पारदर्शीताको कुराहरु अघि नै पनि गरिहालें । 

 

प्रश्नः कतिपय पसल विना दर्ता सञ्चालित छन् । यसका लागि के गर्नुहुन्छ ?
लामिछानेः छन् । मैले व्यवसायीका समस्या बुझेको छु । उहाँहरुलाई दर्ताको लागि सजिलो तरिका सिकाइदिनेछु । व्यवसायीलाई व्यवसाय दर्ताको लागि सहज बनाउन सहयोग गर्छु । समन्वयकारी भूमिकामा रहन्छु । हामीले दर्ता गरेर चलाउनुहोस् भनेका छौं । यो सहजीकरण मबाट हुन्छ । साना, मझौलादेखि ठूला व्यवसायी सवैको हकहितमा लाग्नेछु ।

 

प्रश्नः चुनावमा तपाइँले जित्ने आधार के छ ?
लामिछानेः मैले माथि नै धेरै कुरा गरिसकें । मेरो जित्ने आधार भनेको तिनै हुन् । २१ औं शताब्दीमा अब प्रविधिसंग खेल्ने मान्छेले संस्थाको नेतृत्व गर्नुपर्छ । नत्र फेरि समस्या हुन्छ । उही अनियमितता, उहि टिपेक्स लगाउनुपर्ने, अरुलाई काम गर्न लगाउनुपर्ने, उही सापट लिएर पैसा चलाउने, उठाउनुपर्ने पैसा नउठाउने, यस्तै यस्तै समस्या दोहोरिन्छन् । संघलाई प्रविधिमैत्री बनाउने कुराले व्यवसायी उत्साहित छन् । व्यवसायी उत्साहित भएपछि म यतिकै उत्साहित छु । जित मेरो टिमको पक्का छ । प्रविधिको प्रयोग गरी व्यवसायीलाई अपडेट बनाउँछौं । व्यवसायीलाई घरमै बसेर प्यानको शुल्क तिर्ने र कर चुक्ता प्रमाणपत्र लिन सक्ने कुरा सिकाउँछौं । व्यवसायीलाई सुसूचित गराउन आवश्यक छ । यसमा लाग्छु । सबैको राम्रो प्रतिक्रिया छ । पक्कै जितिन्छ । कतिपयले तपाइँ आफ्नो ढंगले लाग्नुस्, धेरै हल्ला गर्न पनि हुँदैन भनिरहनुभएको छ । हाम्रो अभिभावकत्वको महसुस व्यवसायीले गर्नुभएको छ । म तिनै भगवानरुपी व्यवसायीका समस्या समाधान गर्न र संस्थालाई चुस्त, दुरुस्त तवरबाट संचालन गर्न यो मैदानमा उभिएको छु । म व्यवसायीको मनलाई मर्न दिन्न । व्यवसायी साथीहरुले पनि मेरो मन मर्न दिने छैनन् ।
 

प्रतिकृया दिनुहोस