आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

कृषिलाई आधुनिकीरण, यन्त्रीकरण, व्यवसायिकरणमा जोड दिएका छौं : जनकराज मिश्र

सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्छ । भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा, कुन्छा, चन्द्रेश्वर, दुराडाँडा, धुसेनी र सिन्दुरे गाविस मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२.०३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६,८६४ (जनगणना २०६८) छ । यसअघि भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा गाविसलाई मिलाएर २०७३ मा नगरपालिका घोषणा भएकोमा पछि थप ४ गाविसलाई मिलाइएको हो । तनहुँको भानु नगरपालिकासंग सिमाना जोडिएको र लमजुङ–तनहुँको सीमा क्षेत्र रहेको सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रसंग बेलिना थापाले गर्नुभएको कुराकानी ।
 
 

प्रश्नः जनप्रतिनिधिमा निर्वाचित भएको ३ बर्ष बढी भइसक्यो । यो अवधिमा तपाईँको अनुभव बताइदिनुस् न ।
उत्तरः
हामी बदलिँदो परिस्थतिमा, नेपालको संविधान २०७२, संघीयताको मोडालिटी अनुसार स्थानीय तहका जनप्रतिनिधि भयौं । यो हाम्रो लागि नौलो कुरा रह्यो । चुनावमा विभिन्न राजनीतिक दलहरुले घोषणापत्र जारी ग¥यो । जनताको हित र जनताको सुखका निम्ति लागि परेका छौं । नागरिकका समस्या के छन्, यसको समाधानका लागि के गर्ने, स्रोत साधन प्रयोग, स्वाधीन अर्थतन्त्र बोकेको एउटा नगरपालिका बनाउन सकिन्छ भनेर जनप्रतिनिधि भएका छौं । सुरुमा काम गर्न अप्ठ्यारा थियो । तीन सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयका साथ काम गर्नुपर्ने छ । तीन तहको सरकारको अधिकार कतिपय अवस्थामा अनपेक्षित हिसावबाट स्पष्ट भएको छैन । कानुन नहुँदा समस्या थियो । अहिले आफैं कानुन बनाउन थालेपछि सहज भएको छ । अहिले सवै क्षेत्रसंगढ सहकार्य गरी काम अगाडि बढाउँदै नतिजामुखी काम गर्नको लागि अघि बढेका छौं ।

 

प्रश्नः तपाइँ प्रमुखमा निर्वाचित हुँदा नागरिकले त्यतिबेला कस्तो अपेक्षा राखेका थिए । अहिले तपाइँप्रति हेर्ने दृष्टिकोणमा के पाउनु भएको छ ?
उत्तरः
नागरिकको अपेक्षा सकरात्मक छ । हामी पार्टीले घोषणा गरे अनुसार पार्टीको दृष्टि, भावना अनुसार जनतामाझ पुगेका थियौं । जनतालाई सुखी बनाउन, आत्मनिर्भर बनाउन, भयबाट मुक्त गराउन, असल समाज निर्माण, विकृति विसंगति न्यूनिकरणका लागि लागेका छौं । नागरिकलाई नागरिक भएर बाँच्न पाउने अधिकारको संरक्षणका लागि, चेतनाको बोध गराउन, सचेत नागरिक बनाउन, नागरिक र राज्यबीचको सम्बन्धका बारेमा जानकारी गराउन, नागरिकको अधिकारको बारेमा जानकारी गराउन लागि परेका छौं । नागरिकलाई संघीय शासन प्रणालीको बारेमा बुझाएका छौं । जनताको समस्या के छ ? कस्तो छ ? भनेर बुझ्ने र योजना बनाउने गर्छौं । नगरको स्वास्थ्य, शिक्षा, रोजगार, बिजुली, खानेपानीमा बजेट छ । 

 

प्रश्नः संघीय व्यवस्था अनुसार तपाइँ स्थानीय सरकारको प्रमुख बन्नुभयो । संघीयतालाई कार्यान्वयन गर्न सहज छ या असहज ? के कस्ता चुनौति र समस्याहरु झेल्नु परेको छ ?
उत्तरः
संघीय सरंचनामा गएपछि सहकार्य, समन्वय, सह अस्तित्व हुनुपर्छ । यसले तीन तहका सरकार जोडिन सहज हुन्छ । संघ र प्रदेश, प्रदेश र स्थानीय तह, स्थानीय तह र वडाबीचमा पनि समन्वय हुनुपर्छ । तबमात्र विकास गर्न सहज हुन्छ । कतिपय अवस्थामा एक तहको सरकार र अर्को सरकाबीच अन्तरविरोध पनि छ । कर्मचारी अभाव छ । संघले नपठाउने, स्थानीय तहले नियुक्त गर्न नसक्ने अवस्था छ । कर्मचारी अभावका कारण स्थानीय तह सञ्चालनमा अप्ठ्यारो पनि छ । विस्तारै सहज हुँदै जाने अपेक्षा लिएको छु । 

 

प्रश्नः तपाइँहरु जनप्रतिनिधि निर्वाचित भएपछि विकास त भएको छ नै । नगरपालिकाको दीर्घकालीन विकास र समृद्धिका लागि के कस्ता आधारहरु अगाडि सार्नुभएको छ ?
उत्तरः
सबैभन्दा ठूलो कुरा जनतामा चेतनाको विकास गर्ने र जनतालाई विश्वास दिने कुरा हो । हामीले पूर्वाधारको क्षेत्रमा राम्रो फड्को मारेका छौं । नगरपालिका शिक्षाको हव भन्दा फरक पर्दैन । धेरै विद्यालय, क्याम्पस, शैक्षिक र बौद्धिक व्यक्ति छन् । अहिले हामीले परम्परागत शिक्षा भन्दा जीवन उपयोगी शिक्षा, गुणस्तरीय शिक्षामा जोड दिएका छौं । गुणस्तरीय शिक्षा र सिपमूलक, रोजगारमूलक शिक्षा अबको आवश्यकता हो । प्राविधिक शिक्षामा अघि बढेका छौं । नगरबासीलाई स्वस्थ राख्न शुद्ध खानेपानीको व्यवस्था छ । एक घर एक धारा छ । ठूला खानेपानी योजना बनेका छन् । मर्मत गरेका छौं । स्वास्थ्य संस्था र अस्पतालको स्तरउन्नति गरेका छौं । सेवा विस्तार गरेका छौं । निर्वाचित भएपछि हामीले नगरपालिकाको आफ्नै प्रशासकीय भवन बनाएका छौं । सबै वडाका कार्यालय बनाउन लागेका छौं । वडासम्म जाने बाटो कालोपत्रे नभएपनि ग्राभेल गर्दैछौं । सडक मर्मत भइरहेको छ । मध्यपहाडी लोकमार्गको नगरपालिकामा विवाद थियो । विवादित ८ किलोमिटरको काम हुने भएको छ । टेण्डर हुँदै छ । विद्यालय सुधार भएको छ । सुन्दरबजारमा रहेको कृषि क्याम्पसको सुधारमा पहल गरेका छौं ।

 

प्रश्नः सरकारले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना गरेको छ । यसका लागि कृषि, पशुपालनलाई जोड दिएको पाउँछौं । यसलाई स्वरोजगार र व्यावसायीकतालाई कसरी जोड्नुभएको छ ?
उत्तरः
हाम्रो देश कृषि प्रधान देश हो । हाम्रो भूगोल, जलवायुले पनि कृषिमा साथ दिएको छ । कृषि क्षेत्रको विकासका लागि लगानी बढाएका छौं । माछापालन, मौरीपालन, कुखुरापालन, बंगुरपालन, गाईभैंसी पालन, खोर सुधारका कार्यक्रम धेरै छन् । किसानको चाहना इच्छा अनुसारको अनुदानका कार्यक्तम ल्याएका छौं । कृषिलाई आधुनिकीरण, यन्त्रीकरण, व्यवसायिकरणमा जोड दिएका छौं । विभिन्न यन्त्र अनुदानमा दिएका छौं । बजारीकरणमा सहज बनाउन, आयातलाई विस्थापन गर्न स्थानीय उत्पादनमा जोड दिएका छौं । आफैंले उत्पादन गरेको सामाग्री उपभोग गर्ने भनेका छौं । धेरै युवा विदेश पलायन छन्, उनीहरुलाई अब गाउँठाउँमै राख्नुपर्छ भनेर युवा स्वरोजगारको कार्यक्रम राखिएको छ । युवालाई कृषिमा लाग्न अनुदानको कार्यक्रम छ । जोस र जाँगर भएकालाई सहयोग गर्ने गर्छौं । युवाले कृषिमा ध्यान दिए समृद्धि हुन्छ । व्यवसायमा निरन्तर रुपमा लाग्नका लागि व्यवसायिक रुपमा लाग्न सहयोग गरेका छौं ।


प्रश्नः चालु आर्थिक बर्षमा तपाइँको नगरपालिकाभित्र के–के काम भए ? आगामी बर्ष के–के गर्ने योजना बनाउनुभएको छ ?
उत्तरः
चालु आर्थिक बर्षमा हामीले बढी त कोरोना संक्रमण रोकथाममा काम गरेका छौं । १ करोड रुपियाँ कोरोना नियन्त्रणका लागि खर्च भएको छ । कोरोना संक्रमण रोकथाममा राम्रो काम गरेबापत हामी पुरस्कृत पनि भयौं । हामीले बजेटलाई पूर्वाधार विकास, आयआर्जन, महिला, बालबालिका, बृद्धबृद्धाको आवश्यकता अनुसार सहभागितामा विभिन्न कार्यक्रम गरेका छौं । बजेट फ्रिज हुने अवस्था छैन । आगामी बर्ष केही ठूला योजनामा बजेट विनियोजन गर्ने सोंच बनाएका छौं । वडा कार्यालय भवन बनाइरहेका छौं । सडक, खानेपानीका लागि काम गर्छौं । नागरिकको अपेक्षा अनुसार अघि बढ्छौं । 

 

प्रश्नः फेरि कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । कोरोना रोकथाममा यहाँको    नगरपालिकाले के काम ग¥यो ? अब कसरी संक्रमण रोकथाम गर्ने योजना बनाउनुभएको छ ?
उत्तरः
कोरोना संक्रमण जोखिम छ । हाम्रो नगरपालिका सिमा क्षेत्रमा पर्छ । यहाँ बाहिरी ठाउँबाट धेरै मानिस आउँछन् । शिक्षा, रोजगारका लागि आउने गर्छन् । यहाँबाट पनि जान्छन् । अहिले नदेखिएपनि पछि देखिन सक्ने समस्यालाई मध्यनजर गरी पूर्व तयारीमा छौं । बाहिरबाट आउनेलाई कडा निगरानी राख्छौं । होम क्वारेन्टाइनमा बस्न भनेका छौं । संस्कापद देखिएमा परीक्षण गर्ने व्यवस्था हुन्छ र पोजेटिभ देखिएमा आइसोलेसनमा राख्छौं । नागरिकलाई सामाजिक दुरी कायम गर्न, स्यानीटाइजर प्रयोग गर्न, मास्क लगाउन, साबुनपानीले पटकपटक हात धुन अनुरोध गरेका छौं ।

 

प्रश्नः तपाइँ निर्वाचित भएको ५ बर्ष उत्तरार्धरित मोडिसकेको छ । तपाइँले नगरपालिकालाई बनाउन चाहेको कस्तो थियो ? त्यो भएको कि भएन ? बाँकी समय नगरपालिकालाई कस्तो बनाउन चहानु हुन्छ ?
उत्तरः
हाम्रो कार्यकाल अन्तिमतिर छ । कति गर्न सक्यौं नागरिकको अपेक्षा अनुसार त नभएको हुन सक्छ । किनकी नागरिकको चाहना ठूलो र धेरै छ । तर, जग बसालेका छौं । नागरिकलाई स्थानीय सरकार भएको अनुभूति गराएका छौं । भोलि कोही आउँला, उनीहरुलाई पनि काम गर्न सहज हुने हिसावले गरेका छौं । हाम्रो पालामा ठूला योजनाको काम भएको छ । विकास निर्माणले गति लिएको छ । नागरिकलाई सक्षम बनाएका छौं । आफुले चाहे र जनताले चाहे अनुसार सबै नभए पनि गर्न सकिएको जति गरेका छौं । भ्रष्टचार नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएका छौं । स्वास्थ्य, शिक्षा, खानेपानी, सडकमा लगानी भएको छ । प्रभावकारी रुपमा नागरिकलाई सेवा दिएका छौं । कर्मचारीसंगको असल सम्बन्धको विकास भएको छ । मेरो नगरपालिका नामले मात्र सुन्दर होइन, ठाउँ पनि सुन्दर छ । अझ सुन्दर बनाउने अभियानमा छौं । सबैको प्रेरणा बन्ने, सबैलाई माया गर्ने र सबैको मन जित्ने खालको नगरपालिका बनाउँछौं । जनताले नगरपालिका राम्रो छ भन्ने खालको बनाउँछौं । भोलि आउने जनप्रतिनिधिलाई पनि काम गर्न सहज हुने र नराम्रो नगरेको रहेछ भन्ने पार्नका लागि मेरो प्रतिवद्धता छ ।
 

प्रतिकृया दिनुहोस