आज हरिबोधिनी एकादशी, मर्स्याङ्दी गाउँपालिकामा आजदेखि एकादशी मेला एवं खेलकुद तथा साँस्कृतिक मेला हुँदै
लमजुङ ।
आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा हिन्दू धर्मावलम्बीले तुलसीको पूजा(आराधना गर्नुका साथै भगवान् विष्णुको विशेष पूजा गरी तुलसी विवाह उत्सव मनाउँदै छन् । हरिबोधिनी एकादशीलाई ठूली एकादशी, हरिबोधनी तथा तुलसी विवाहका नामले समेत चिनिन्छ ।
वैदिक परम्पराअनुसार यस दिन तुलसीको भगवान् दामोदर अर्थात् विष्णुसँग विवाह गरिदिने चलन छ । धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै ब्युँझने भएकाले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो । हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिन्छ । यस अवधिमा विष्णुका भक्तजनले तुलसीको व्रत बसी विशेष पूजा-आराधना गर्ने परम्परा छ । भगवान् विष्णु शयनमा रहने धार्मिक विश्वासका कारण यस अवधिमा विवाह, व्रतबन्धलगायत शुभ तथा मांगलिक कार्य नगर्ने चलन छ ।
वर्षायाममा बाढीपहिरो र सर्पलगायत जीवजन्तुको जोखिम हुने भएकाले यात्रा नगर्नु पनि शुभ मानिने धार्मिक विश्वास छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको मठलाई आज गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर विवाह उत्सव मनाइन्छ । तुलसीलाई भगवान् विष्णुको प्रिय मानिने भएकाले तुलसी र विष्णुको विवाह गराउने परम्परा बसेको धार्मिक विश्वास छ । यस अवसरमा तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालोको लिंगो गाडेर विधिपूर्वक पूजा गर्ने चलनसमेत छ ।
मर्स्याङ्दी गाउँपालिकामा एकादशी मेला एवं खेलकुद तथा साँस्कृतिक मेला सुरु
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा आजदेखि हरिबोधनी एकादशी मेला तथा खेलकुद–सांस्कृतिक कार्यक्रम सुरु भएको छ । ठूली एकादशीको अवसरमा खुदी युथको आयोजनामा सञ्चालन हुने १० दिने मेलाको औपचारिक उद्घाटन भने आज दिउँसो हुने छ ।
मेलामा अहिले बिहानदेखि नै फूलको डोली तान्ने लगायतका धार्मिक गतिविधिहरु भईरहेका छन् । “विविधतामा एकता हाम्रो पहिचान, इतिहास, धर्म संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलामा खेलकुद, कला, संस्कृति, मनोरञ्जन तथा सामाजिक सेवाका विभिन्न कार्यक्रम समावेश गरिएको छ। मेलाको मुख्य आकर्षणका रूपमा खुला पुरुष फुटबल प्रतियोगिता, वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिता, खुला छेलो प्रतियोगिता तथा महिला कुर्सी दौड सञ्चालन हुनेछन्।
खुला पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै, वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खुला छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यसैगरी, सांस्कृतिक कार्यक्रमअन्तर्गत फूलको डोली तान्ने, भजनकीर्तन, एकादशी सांस्कृतिक साँझ तथा राष्ट्रिय कलाकार अर्जुन सापकोटा र स्थानीय कलाकार प्रशान्त तामाङको सांगीतिक प्रस्तुति रहनेछ। मेलाको अवसरमा स्थानीय कृषि उत्पादनको प्रवर्द्धनका लागि कृषि प्रदर्शनी तथा खरिदबिक्री कार्यक्रमसमेत सञ्चालन गरिनेछ। त्यस्तै, खुदी स्वास्थ्य चौकीको समन्वयमा निःशुल्क मिर्गौला परीक्षण शिविर पनि आयोजना गरिने आयोजकले जनाएको छ। मर्स्याङ्दी गाउँपालिकाको मुख्य प्रायोजन तथा गाउँपालिकाको वडा नम्बर ३ को सहप्रायोजनमा सञ्चालन हुने मेलाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै खेलकुद तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजक खुदी युथले मेलामा सहभागी भई कार्यक्रम सफल बनाउन स्थानीयवासी, खेलप्रेमी, कलाकार तथा सर्वसाधारणलाई आग्रह गरेको छ।







प्रतिकृया दिनुहोस