आज : Friday, November 06, 2026 | २०८३ कार्तिक २१ शुक्रबार

नयाँ भनिनेहरू कामका हिसाबले अयोग्य र नालायक देखिए : एमाले महासचिव शंकर पोखरेल

लमजुङ ।
नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले नयाँ भनिएका राजनीतिक शक्तिहरू कामका हिसाबले अयोग्य र नालायक देखिएको टिप्पणी गर्नुभएको छ । लमजुङ सदरमुकाम बेँसीशहरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तो टिप्पणी गर्नुभएको हो ।

नेपालीहरूको महान् चाड वडा दसैँ, तिहार, छठ, ल्होसार, माघेसङ्क्रान्ति तथा क्रिसमसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी लमजुङले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्र समस्या उत्पन्न हुँदा टाढिनेभन्दा पनि त्यसको समाधान खोजेर पार्टीलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालका एल्गोरिदमले युवाहरूमा राजनीतिप्रति वितृष्णा पैदा गर्ने काम गरिरहेको आरोप लगाउनुभयो । भदौ २३ र २४ गतेका घटनामा पनि नेपाललाई विभाजित गर्न चाहने शक्तिहरूले यस्तै माध्यमबाट युवाहरूलाई उक्साउने काम गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री संसद् र आफ्नै दलप्रति जवाफदेही तथा उत्तरदायी हुन नसकेको आरोप लगाउँदै उहाँले लोकतान्त्रिक व्यवस्थामा सरकार प्रमुख जिम्मेवार हुनुपर्ने बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बाढीपीडितका लागि छ महिनाभित्र स्थायी आवास निर्माण गरिदिएको उल्लेख गर्दै पोखरेलले वर्तमान सरकारले भोटेकोसी बाढी प्रभावितलाई अस्थायी आश्रयस्थलसमेत उपलब्ध गराउन नसकेको आरोप लगाउनुभयो । २०७२ सालको भूकम्पको तुलनामा भोटेकोसी बाढीबाट भएको क्षति कम भए पनि सरकारले पूर्वाधार पुनर्निर्माणमा पर्याप्त ध्यान नदिएको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले एमाले अरूको विचार बोक्ने भरिया नभएको बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टीसँगको सम्भावित सहकार्यबारे धारणा राख्दै उहाँले जनताको बहुदलीय जनवादको सम्मान गर्दै जनताको हितका लागि सहकार्य गर्न एमाले तयार रहेको बताउनुभयो । तर, पार्टीको मनोबल कमजोर बनाएर गरिने सहकार्य स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

अधिकारीले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता र सक्रियता कायम हुन सके आगामी निर्वाचनमा जित हासिल गर्न कठिन नहुने बताउँदै सबैलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष जितबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र बोहोराले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिसहित ३ सय ३७ जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस