कर्मचारी सम्मान तथा पुरस्कार वितरणसहित प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सव सम्पन्न
लमजुङ ।
प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा उत्कृष्ट कर्मचारी सम्मान, स्मारिका विमोचन तथा खेलकुद पुरस्कार वितरणसहित वार्षिकोत्सव मनाइएको हो। वार्षिकोत्सवका अवसरमा कार्यसम्पादन, अनुशासन, बिरामीप्रतिको व्यवहार र जवाफदेहिताका आधारमा अस्पतालका पाँच जना कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा कन्सल्टेन्ट डा. नारायणप्रकाश शर्मा, अस्पताल व्यवस्थापन अधिकृत प्रमिला ढकाल, मेडिकल ल्याब टेक्नोलोजिस्ट विकास गुरुङ, नर्सिङ स्टाफ रेशमकुमारी गुरुङ र कार्यालय सहयोगी वृन्दा रानामगर रहेका छन्। उनीहरूलाई प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले सीमित आर्थिक स्रोतका बाबजुद प्रदेशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा प्रभावकारी बनाउँदै प्रतीक्षा सूची शून्यमा झार्ने गरी काम भइरहेको उहाँको भनाइ थियो। गण्डकी प्रदेशभित्र रहेका १४ वटा प्रदेश अस्पतालमा शय्या संख्या बढाएर ८५० पुर्याइएको जानकारी दिँदै उहाँले अस्पतालहरूको स्तरोन्नति र आवश्यक जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको बताउनुभयो। प्रदेशका अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढाएर २५० पुर्याइएको र करार सेवामार्फत समेत स्वास्थ्य कर्मचारी थप्ने काम भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो। आगामी वर्ष प्रदेश सरकारले सीटी स्क्यान मेसिन खरिद गर्दा लमजुङलाई पहिलो प्राथमिकतामा राखिने उहाँले बताउनुभयो। प्रदेश अस्पताल लमजुङको नयाँ भवन निर्माण हुन नसकेको विषयमा बोल्दै मुख्यमन्त्री पाण्डेले २०८२ साल कात्तिकमा नयाँ भवन संहिता जारी हुनुअघिकै मापदण्डअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकाले बजेट छुट्याइसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्न नसकेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा अस्पतालको हालसम्मको प्रगति र अवस्थाबारे अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी गराउनुभएको थियो। उहाँले अस्पतालले प्रदेशमै पहिलोपटक सर्जिकल आईसीयू तथा रेबिज इम्युनोग्लोबुलिन सेवा सुरु गरेको जानकारी दिनुभयो। त्यसैगरी, बिरामी अस्पताल वा स्वास्थ्य संस्था प्रत्यक्ष पुग्न नसकेको अवस्थामा फोन, भिडियो कल तथा इन्टरनेटको माध्यमबाट चिकित्सकसँग परामर्श लिन सकिने टेलिमेडिसिन सेवा पनि सुरु गरिएको उहाँले बताउनुभयो। अस्पतालले सिजेरियन अर्थात् शल्यक्रियामार्फत हुने प्रसूतिको दर घटाउने प्रयास गरिरहेको पनि डा. देवकोटाले जानकारी दिनुभयो। कुनै पनि बिरामीले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै त्यसको जिम्मेवारी आफूले लिने उहाँले बताउनुभयो। अस्पतालमा पर्याप्त क्षमताको जेनेरेटर नहुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा टर्चलाइट बालेर शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। त्यसैगरी, अस्पतालमा ब्लड बैंक, एनआईसीयू तथा सीटी स्क्यान मेसिन नहुँदा बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, गाउँपालिकाहरूको तर्फबाट क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ तथा नगरपालिकाहरूको तर्फबाट बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसैगरी, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री मधु अधिकारी, स्वास्थ्य मन्त्रालयका महानिर्देशक खिमबहादुर खड्का, प्रदेश अस्पताल गोरखाका अध्यक्ष कृष्णप्रसाद ढकाल, प्रदेश अस्पताल आँपपिपलका अध्यक्ष पार्वती पाठक, प्रदेश अस्पताल बेसीशहरका अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिजंग तामाङलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
वार्षिकोत्सवका अवसरमा महिला तथा पुरुष फुटसल, महिला तथा पुरुष भलिबल, टग अफ वार, टेबल टेनिस, ब्याडमिन्टन, बुद्धिचाल, सटपुट, स्याक रेस, घैँटोफोर र म्युजिकल चेयरलगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरूले नृत्यसमेत प्रस्तुत गरेका थिए। नृत्य प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य जुनबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने अञ्जना पौडेल र पुरुषोत्तम घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।






प्रतिकृया दिनुहोस