आज : Saturday, November 07, 2026 | २०८३ कार्तिक २२ शनिबार

विगत ४ वर्षदेखि तिहारलक्षित फूलखेतीमा सुरेश, अहिले फूल टिप्न भ्याइनभ्याइ  

चितवन। तिहार नजिकिएसँगै भरतपुर महानगरपालिका–५, अम्बरचोकका सुरेश मगरलाई सयपत्री फूल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ भएको छ। विगत चार वर्षदेखि तिहारलाई लक्षित गरी सयपत्री फूलखेती गर्दै आउनुभएका मगर यतिबेला बारीमा फुलेका फूल टिप्ने र ग्राहकको मागअनुसार बिक्री गर्ने काममा व्यस्त हुनुहुन्छ।

मगरले तीन गठ्ठा जग्गामा सयपत्री फूलखेती गर्दै आउनुभएको छ। तिहारका बेला सयपत्री फूलको माग उच्च हुने भएकाले उहाँले यसलाई आम्दानीको राम्रो माध्यमका रूपमा अघि बढाउनुभएको हो। फूलखेतीसँगै बजार व्यवस्थापनलाई समेत ध्यान दिनुभएका मगरले ग्राहकलाई सहज बनाउन घरमै फूल पुर्‍याइदिने व्यवस्था पनि मिलाउनुभएको छ।

उहाँका अनुसार चार किलोभन्दा बढी सयपत्री फूल आवश्यक पर्ने ग्राहकका लागि होम डेलिभरीको सुविधा उपलब्ध छ। हाल चितवनमा ठूलो थुङ्गा भएको सयपत्री फूल प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। घरबाटै थोक मूल्यमा माला ७० र फूल ४०० तथा खुद्रामा माला १०० र प्रति केजी फूल ४५० देखि ५०० रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिg'eof] .

मगरजस्तै चितवनका अन्य कृषक पनि तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन्। स्थानीय कृषकको मेहनत र लगानीका कारण चितवनमा फूलखेती विस्तार हुँदै गएको छ। जिल्लामा उत्पादित फूलले स्थानीय बजारको माग धान्नुका साथै अन्य जिल्लामा समेत पठाउन सकिने अवस्था बनेको छ।

जिल्ला कृषि विकास कार्यालय चितवनको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा २८ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। गत वर्ष २२ दशमलव ६७ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। गत वर्ष जिल्लामा १३७ मेट्रिक टन सयपत्री फूल उत्पादन भएको थियो। यस वर्ष मौसम अनुकूल रहेमा उत्पादन अझ बढ्ने कृषि अर्थविज्ञ निर्मल पौडेलले जानकारी दिनुभएको छ।

चितवनका सातवटै स्थानीय तहमा सयपत्री फूलखेती विस्तार भएको छ। कालिका नगरपालिकामा ६ दशमलव ६७ हेक्टर, रत्ननगरमा ५ हेक्टर, भरतपुरमा ३ दशमलव ५० हेक्टर, खैरहनीमा ३ हेक्टर, राप्तीमा २ दशमलव ५० हेक्टर र माडीमा १ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ। इच्छाकामना गाउँपालिकामा पनि सयपत्री फूलखेती गरिएको छ। जिल्लामा करिब १२० जना कृषक व्यावसायिक रूपमा यस पेसामा संलग्न छन्।

चितवनमा स्वदेशी फूलको उत्पादन बढ्दै गए पनि बजारमा भारतीय प्लास्टिकका कृत्रिम माला तथा सजावटका सामग्रीको आयात र बिक्री स्थानीय कृषकका लागि चुनौती बनेको छ। कृषकहरूले उत्पादन गरेको प्राकृतिक फूलले उचित बजार र मूल्य पाउनुपर्ने माग गर्दै आएका छन्।

स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो भने सुरेश मगरजस्ता साना तथा व्यावसायिक कृषकको मेहनतले राम्रो प्रतिफल पाउन सक्छ। तिहारको रौनकसँगै चितवनका सयपत्री बारीमा देखिएको चहलपहलले स्थानीय पुष्प व्यवसायको सम्भावनालाई समेत उजागर गरेको छ।  

प्रतिकृया दिनुहोस