राष्ट्रिय परिचयपत्र सेवा एकै स्थानबाट दिने लमजुङ प्रशासनको तयारी
लमजुङ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने तयारी गरेको छ। सेवाग्राहीले एउटै सेवाका लागि कार्यालयका विभिन्न कोठा धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले कार्यालय परिसरमा छुट्टै संरचना निर्माणको काम अघि बढाइएको हो।
हाल जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अधिकांश सेवा एकद्वार प्रणालीमार्फत सञ्चालन भइरहे पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी काम भने फरक–फरक कोठाबाट हुँदै आएको थियो। परिचयपत्रका लागि विवरण दर्ता गर्ने काम कोठा नम्बर १३, जैविक विवरण संकलन कोठा नम्बर १० र तयार भएको परिचयपत्र वितरण कोठा नम्बर १६ बाट हुँदै आएको थियो।
यसरी एउटै सेवाका विभिन्न चरण पूरा गर्न सेवाग्राहीले तीनवटा कोठासम्म पुग्नुपर्ने अवस्था थियो। यसले विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्ति र टाढाबाट सेवा लिन आउने नागरिकलाई थप असहज बन्दै आएको थियो।
यही समस्यालाई मध्यनजर गर्दै अब विवरण दर्तादेखि जैविक विवरण संकलन र परिचयपत्र वितरणसम्मका सम्पूर्ण प्रक्रिया एउटै स्थानबाट उपलब्ध गराउने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै सेवा एकै ठाउँबाट सञ्चालन गर्ने गरी नयाँ संरचना निर्माणको काम अघि बढाइएको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवाग्राहीले विभिन्न कोठा खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने र सेवा लिन लाग्ने समयसमेत घट्ने अपेक्षा गरिएको छ।
एकद्वार प्रणालीले नागरिकलाई सेवा लिन सहज बनाउनुका साथै कर्मचारीलाई पनि काम व्यवस्थापन र सेवा प्रवाहमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
सरकारी सेवालाई थप सरल, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यसहित अघि बढाइएको यो व्यवस्थाले जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस