लमजुङको दूधपोखरीमा ट्रयाक्टर दुर्घटना, दुई जना घाइते, चालक गम्भीर
लमजुङ । लमजुङको दुधपोखरी गाउँपालिका–६ भिरकुनामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब ३ः२५ बजे पिरिन्चेडाँडाबाट भिरकुनातर्फ जाँदै गरेको लु १ त ७०३ नम्बरको ढुंगा लोड भएको ट्रयाक्टर ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
सडकबाट करिब १० मिटर तल खसेको ट्रयाक्टरमा सवार चालक र सहचालक घाइते भएका छन्। घाइते हुनेमा दुधपोखरी गाउँपालिका–६ ओखरीका २५ वर्षीय चालक दलबहादुर नेपाली र सुन्दरबजार नगरपालिका–७ सहकालेका १८ वर्षीय सहचालक सुगम गुरुङ छन्।
दुर्घटनामा चालक नेपालीको शरीरमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सहचालक गुरुङको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। घाइते दुवैलाई उद्धार गरी ग १ ज ६२१० नम्बरको बोलेरो जिपमार्फत प्रदेश अस्पताल बेँसीशहर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी गौंडाबाट प्रहरी सहायक निरीक्षक सागर नेपालीको कमान्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनाग्रस्त ट्रयाक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।







प्रतिकृया दिनुहोस