‘उपाध्यक्षसँग महिला’ कार्यक्रमबारे मर्स्याङ्दीको स्पष्टीकरण
लमजुङ ।
मर्स्याङ्दी गाउँपालिकाले ‘उपाध्यक्षसँग महिला’ कार्यक्रमअन्तर्गत गरिएको अध्ययन तथा अवलोकन भ्रमणबारे सामाजिक सञ्जालमा आएका विभिन्न सामग्री र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जारी गरेको विज्ञप्तिमा उक्त कार्यक्रम आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा समावेश रहेको र त्यसका लागि ४ लाख रुपैयाँ बजेट छुट्याइएको उल्लेख छ।
गाउँपालिकाका अनुसार महिला जनप्रतिनिधि तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाबीच असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले असोज १६ देखि १९ गतेसम्म विभिन्न स्थानीय तहमा अध्ययन तथा अवलोकन भ्रमण गरिएको हो।
भ्रमण टोलीमा महिलाको सहभागिता रहे पनि व्यवस्थापन र आवश्यक सहजीकरणका लागि केही पुरुष कर्मचारीलाई समेत सहभागी गराइएको गाउँपालिकाले जनाएको छ।
सामाजिक सञ्जालमा उपाध्यक्ष पुरुष कर्मचारी सहभागी गराउन इच्छुक नभएको तर लेखा अधिकृतले भुक्तानी नहुने भन्दै पुरुष कर्मचारीलाई सहभागी गराएको भन्ने आशयका सामग्री सार्वजनिक भएको भन्दै गाउँपालिकाले उक्त दाबी तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको छ।
गाउँपालिकाले भ्रमणका कारण नियमित सेवा प्रवाह प्रभावित नहोस् भन्ने विषयमा आफूहरू सचेत रहेको जनाएको छ। कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई आगामी दिनमा महिला तथा सामाजिक विकासका क्षेत्रमा उपयोग गर्ने गाउँपालिकाको भनाइ छ।
सामाजिक सञ्जालमा उठाइएका जिज्ञासा र सुझावलाई सकारात्मक रूपमा लिएको जनाउँदै गाउँपालिकाले तथ्यमा आधारित सूचना र स्वस्थ आलोचनाको स्वागत गर्ने जनाएको छ।








प्रतिकृया दिनुहोस