आज : Monday, October 05, 2026 | २०८३ असोज १९ सोमबार

लमजुङमा रास्वपाको जिल्ला पार्टी कार्यालय उद्घाटन

लमजुङ ।
लमजुङको सदरमुकाम बेँसीशहर नगरपालिका–८, ठाडोलाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ। आइतबार आयोजित कार्यक्रममा रास्वपाका केन्द्रीय नेता धर्मराज केसी, केन्द्रीय संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, गण्डकी प्रदेश महामन्त्री कृष्णप्रसाद लम्साल र जिल्ला सभापति अशोक सापकोटालगायत नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो।

कार्यालयको उद्घाटन सामूहिक रूपमा दीप प्रज्वलन तथा रिबन काटेर गरिएको रास्वपा लमजुङले जनाएको छ। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह तथा वडाबाट आएका पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। 

जिल्ला सभापति सापकोटाका अनुसार कार्यालय उद्घाटनअघि शनिबार पार्टीको विस्तारित बैठक आयोजना गरिएको थियो। आइतबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए। नयाँ कार्यालय सञ्चालनमा आएसँगै जिल्लाका सांगठनिक गतिविधि, संगठन विस्तार, जनसम्पर्क तथा समन्वयका कामलाई थप व्यवस्थित रूपमा अघि बढाउने तयारी गरिएको सापकोटाले बताउनुभयो। 

रास्वपा लमजुङले नयाँ कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीका नियमित गतिविधि सञ्चालन तथा जनसम्पर्क विस्तारका कामलाई निरन्तरता दिने जनाएको छ। 

प्रतिकृया दिनुहोस