क्व्होलासोथर गाउँपालिकाद्वारा पोखरामा संचालित एकीकृत सेवा प्रवाह शिविर सम्पन्न
लमजुङ ।
लमजुङको क्व्होलासोथर गाउँपालिकाद्वारा कास्कीको पोखरा महानगरपालिका–१२ स्थित पैको तमु समाजमा संचालित एकीकृत सेवा प्रवाह शिविर शनिबार सम्पन्न भएको छ। नागरिकलाई घरदैलोमै सहज, छिटो र प्रभावकारी सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गरेको थियो । शिविरको शनिबार समापन गरिएको हो ।
शिविरको अन्तिम दिन शनिबार सामाजिक सुरक्षा भत्तातर्फ वडा नं. ७ का ३ जना र वडा नं. ९ का १ जना गरी ४ जना लाभग्राहीले सेवा लिएका छन्। यस्तै, राजस्व सङ्कलनतर्फ ११ जना सेवाग्राहीले सेवा लिएका छन्।
व्यक्तिगत घटना दर्ता तथा सिफारिस सेवाअन्तर्गत वडा नं. ८ बाट १७ वटा र वडा नं. ९ बाट ८ वटा गरी २५ वटा सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ। यसरी अन्तिम दिन सामाजिक सुरक्षा, राजस्व, व्यक्तिगत घटना दर्ता तथा सिफारिसतर्फ गरी कुल ४० वटा सेवा प्रवाह गरिएको हो।
गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले पोखरामै शिविर सञ्चालन गरेको हो। शिविर अवधिभर सेवा लिन उपस्थित नागरिक तथा शिविर सफल बनाउन खटिएका जनप्रतिनिधि र कर्मचारीलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।








प्रतिकृया दिनुहोस