पसगाउँमा फागुन १९ र २० गते १४ औँ पसगाउँ महोत्सव हुने
क्व्होलासोथार गाउँपालिका ६, पसगाउँमा फागुन १९ र २० गते १४ औं पसगाउँ महोत्सव हुने भएको छ ।
पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले फागुन १९ र २० गते महोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।
लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको समितिले जनाएको छ । गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै न्युन आय भएका नागरिकको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उद्देश्यका साथ महोत्सव आयोजना गन लागिएको पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । बैठकले बेसीशहर र पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवबारे जानकारी गराइने अध्यक्ष गुरुङले बताउनुभयो ।
ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो । महोत्सव मार्फत पसगाउँको मौलिक संस्कृति कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटुजस्ता लोपोन्मुख नृत्यहरुको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने वडा अध्यक्ष मनलाल गुरुङले बताउनुभयो ।
सिल्दु पूजा, छेदुपु पूजा, क्व्होम्रे पूजा, भवानी पूजालगायत विशिष्ट परम्परागत रीतिरिवाज रहेको पसगाउँ पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको प्राकृतिक शिवलिंग, भौं भौं ह्राब (बजाउने ढुंगा), सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्व्होम्रे डाँडासहित ४ वटा प्रशिद्ध डाँडाहरु रहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमू (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो ।
लमजुङ सदरमुकाम बेंसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पोखरादेखि रामबजार गिलुङ हुँदै, पोखरादेखि थुम्सीकोट हुँदै, तनहुँको दमौली भोर्लेटार गिलुङ हुँदै र बेंसीसहरदेखि घलेगाउँ भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पसगाउँको प्रमुख खाद्यान्न बाली धान, कोदो, मकै हो ।








प्रतिकृया दिनुहोस