आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङको बेंसीशहरमा चैत २३ देखि ८ औं लमजुङ महोत्सव हुने

बेंसीसहरको सहजी खेलमैदानमा चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म ८ औं लमजुङ महोत्सव २०८० हुने भएको छ । आयोजक लमजुङ उद्योगा वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको हो ।
संघले प्रत्येक २–२ वर्षमा आयोजना गर्दै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिने गरी तयारी थालिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो । महोत्सवलाई सभ्य र भव्य बनाउन ३ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यस्तै, सल्लाहकार समिति, कार्य सम्पादन समिति, संयोजन समिति र विभिन्न उपसमितिहरु गठन गरिएको श्रेष्ठले बताउनुभयो ।
आयोजक संघका महासचिव विपिन श्रेष्ठका अनुसार महोत्सवले समग्रमा जिल्लाको आर्थिक विकासमा टेवा पुग्नुका साथै यहाँको लोपुन्मुख कला संस्कृतिका जगेर्ना गर्नेछ । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युतलगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा थप टेवा पु¥याउन, आर्थिक मन्दिको प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
महोत्सवले होमस्टेलाई प्रवद्द्र्धन गर्ने, स्थानीय साथै प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने, स्थानीय मौलिक कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेना गर्ने आयोजकले जनाएको छ । महोत्सवमा २ सय वटा व्यवसायिक स्टल राखिनेछन् । महोत्सवमा २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । 
महोत्सवमा विक्री भएको टिकटबाट प्रति टिकट ५ रुपैयाँ सामाजिक सेवा कोषका लागि सहयोग गर्ने संघले जनाएको छ । सहजी खेल मैदान विकासका लागि १ रुपैयाँ, दैवीप्रकोप उद्दार कोषमा १ रुपैयाँ ५० पैसा, आदर्श महिला तथा बालविकास केन्द्र, मानव सेवा आश्रम र जेष्ठ नागरिक आरोग्य आश्रमलाई ५०–५० पैसा र नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि १ रुपैयाँ सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा कृषि, पुष्प तथा जडिवुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, लोकदोहोरी गीत कार्यक्रम, फोटो तथा बृत्तचित्र प्रदर्शनी, परम्परागत खाना महोत्सव, लोकदोहोरी कार्यक्रम, वाल उद्यान, नाटक प्रदर्शनी, कार्यशाला गोष्ठी, ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महासचि श्रेष्ठले बताउनुभयो ।
संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गुणराज सिलवाल, पूर्वअध्यक्ष राजेश थापा, रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीलगायतको उपस्थिति थियो । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले महोत्सवलाई महोत्सवको रुपमा मात्र नभइ महोत्सवको माध्यमबाट नयाँ सन्देश जाने गरी काम गर्न सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस