आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

मर्स्याङ्दी गाउँपालिकाका होमस्टेमा रमाए विदेशी पाहुना

मर्स्याङ्दी गाँउपालिका ७ मा पर्ने ४ वटा गाउँहरु क्रमशः छिनखोला, लुदी, ताराचोक र शेरामा स्थापित होमस्टेहरुमा विदेशी पाहुनाहरु आकर्षित भएका छन् ।
उनीहरु स्थानीय संस्कृति, रीतिरिवाज, दृष्य र स्थानीय खानाका परिकारहरुको स्वादान रमाएका छन् । अष्ट्रियाको शाल्सवर्ग विश्वविद्यालयमा अध्ययनरत १४ विद्यार्थीहरुसहित विश्वविद्यालयका प्राध्यापक र ईको हिमाल अष्ट्रियाका प्रतिनिधिहरुले स्थानीय मौलिक कला र संस्कृतिमा रमाएका हुन् ।
अन्नपूर्ण सर्किट ट्रेकिङ रुटको समिपमा उत्तरतर्फ केहि मिनेटको यात्रामा गरेर अलैंचीले भरिएका ती गाउँहरु पुग्छ सकिन्छ । स्थानीय समुदायको जीविकोपार्जन अलैंची उत्पादन र बजारीकरणमा आधारित रहेकोमा ईको हिमाल नेपाल नामक गैरसरकारी संस्थाले १० वर्ष देखि लमजुङमा अलैंची उत्पादनमा गुणस्तरका लागि स्थानीय कृषकहरुको क्षमता अभिवृद्धि साथै आवश्यक पूर्वाधार एवं सामग्रीहरु उपलब्ध गराइरहेको छ । 
यसै क्रममा स्थानीय कृषकहरुको आयआर्जनमा विविधिकरणका लागि अलैंची केन्द्रित पर्यटन विकासमा जोड दिइएको छ । ती गाउँहरुमा हाल २३ वटा होमस्टेहरु सञ्चालनमा रहेका छन् । ४ वटा गाँउहरुको होमस्टे व्यवस्थापनको जिम्मा अलैंची अवलोकन बि एण्ड बि समूहको लिएको छ ।
अलैंची बारीमा व्यस्त हुने स्थानीयहरु आजभोलि पाहुनाका लागि मिठा परिकारहरु बनाएर स्वागत सत्कार गर्न व्यस्त छन् । पाहुनासंग एकछिन गफिएर उनीहरुलाई ठाउँ र संस्कृतिका साथै अलैंची उत्पादन चक्रको बारेमा जानकारी गराउन व्यस्त छन् । होमस्टे संचालनमा ल्याएपछि उनीहरुको दैनिकीमा समेत परिवर्तन आएको छ ।
होमस्टेको माध्यमबाट स्थानीय समुदायको जीवनस्तर उकास्न सकिन्छ भन्नेमा मर्स्याङ्दी गाउँपालिका पनि लागिपरेको छ । ईको हिमालले गरेका प्रयासहरुमा गाँउपालिकाको पूर्ण साथ दिएको ईको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताउनुभयो । उहाँका अनुसार ईको हिमालको फार्मिङ फर हेल्थ परियोजनाले स्थानीयलाई मौलिक परिकार बनाउन, होमस्टे व्यवस्थापन र पाहुना सत्कार संस्कृतिमा क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दे होमस्टे व्यवस्थापनका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।
पाहुनाहरुलाई गर्ने स्वागत, उनीहरुलाई खुवाइने परिकार पकाउने तरिका, पाहुनाहरुको मनोविज्ञान अनुसारको सेवा प्रदान लगायतका विषयहरुमा होमस्टे संचालकहरुको क्षमता अभिवृद्धि भएको उहाँले बताउनुभयो । 
स्थानीय खाना, सुन्दर गाउँहरु साथै स्थानीयको राम्रो व्यवहारले आफूहरुलाई आकर्षित गरेको शाल्सवर्ग विश्वविद्यालयका विद्याथीहरु बताउँछन् । आफ्ना साथीहरुलाई पनि भविष्यमा घुम्न प्रोत्साहन गर्ने समेत उनीहरुले बताएका छन् ।
बेसीशहर हुँदै मनाङ जाने पर्यटकहरु १–२ दिन होमस्टे गाउँहरुमा बसेर स्थानीय तामाङ र गुरुङ समुदायको मौलिक कला र संस्कृतिमा रमाउन सक्ने स्थानीय बताउँछन् । ईको हिमाल अष्ट्रियाका उपाध्यक्ष मारिया गेमाखरले अलैंची कृषकहरुलाई यो व्यवसाय थप आयआर्जन गर्ने माध्यम बन्ने विश्वास आफूलाई रहेको र बाहृय साथै आन्तरिक पर्यटकहरुलाई भित्राउन थप प्रचारप्रसारको खाँचो रहेको औंल्याउनुभयो ।
स्थानीय होमस्टे सञ्चालक चिजा कुमारी महतका अनुसार पदयात्रा गर्दे होमस्टेमा बस्न आउने चाहना भएका पर्यटकहरुलाई होमस्टेहरु उपयुक्त गन्तव्य बन्न सक्छन् । उहाँले भन्नुभयो, ‘हामीले अब हाम्रो होमस्टेहरुको प्रवर्द्धन गर्न सक्दो प्रयास गनुपर्ने देखिन्छ । हामी पर्यटकलाई होमस्टेमा स्वागत गर्न सधैं आतुर छौं ।’ अलैंचीकेन्द्रित पर्यटकीय गतिविधि, अतिथि सत्कार र कुशल व्यवस्थापनका हिसाबले होमस्टे गाँउहरु नमुना गाँउहरु बनाउन अति आवश्यक रहेको स्थानीय बताउँछन् । 

प्रतिकृया दिनुहोस