आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङको पर्यटकीय पसगाउँमा १४ औं पसगाउँ महोत्सव सुरु

क्व्होलासोथार गाउँपालिका ६, पसगाउँमा शनिबारदेखि १४ औं पसगाउँ महोत्सव सुरु भएको छ । राष्ट्रिय तथा अन्तर्राट्रिय जगतमा पसगाउँलाई थप चिनाउन महोत्सव आयोजना गरिएको स्थानीयले बताएका छन् । 
पसगाउँको महोत्सवको क्होम्रे डाँडामा उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले आफू मन्त्री र मुख्यमन्त्री हुँदा होमस्टे प्रवद्र्धन कार्यक्रम ल्याएर ग्रामीण पर्यटनको विकास गरेको दावी गर्नुभयो ।
उहाँले हामस्टेले ग्रामीण अर्थतन्त्र चलायमान बनाएको, रोजगारीको अवसर सिर्जना गरेको,  स्थानीय कला र संस्कृतिको संरक्षण गरेको र होमस्टे ग्रामीण अर्थतन्त्रको दीर्घकालीन स्रोत रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रलाई डामाडोल बनाएको, जनताका दैनिक सरोकारका विषयसंग सरोकार नराखेको, सत्तामा टिकिरहनेमात्रै चिन्तन गरेको, विकासका नयाँ योजना ल्याउन नसकेको, सुरु गरिएका विकास योजनालाई अलपत्र पारेकोलगायत आरोप लगाउनुभयो ।
पसगाउँका वासिन्दाले २०६० साल बैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सवको आयोजना गरिएको थियो । तत्कालीन सशस्त्र द्धन्द र पछिल्लो समय कोभिड १९ का कारण महोत्सव नियमित हुन नसकेकोमा पछिल्लो समय मेला महोत्सवको आयोजना गरी गाउँको पर्यटन प्रवद्र्धनमा जुटेको वडाअध्यक्ष मनलाल गुरुङले बताउनुभयो ।
पसगाउँ सामुदायिक होमस्टेका नवनिर्वाचित अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार महोत्सवमा स्थानीय हस्तकला, गुरुङ जातिको कला संस्कृति र भेषभूषा, स्थानीय खानालगायतको प्रदर्शन गरिएका छन् । 
कूल १ सय ४५ घरधुरी रहेको पसगाउँमा ११ घरधुरी भुजेल र १२ घर दलित समुदायका छन् । समुद्री सतहदेखि करिब १ हजार ६ सय ५० मिटर उचाइमा रहेको पसगाउँमा पर्यटकका लागि २१ घरमा होमस्टे स्थापना गरिएका छन् । ढुंगाले छाएका घरहरु प्रमुख विशेषताको रुपमा रहेको पसगाउ“मा पछिल्लो समय गाउँ माथिको क्होम्रे डाँडालाई पर्यटकीय गन्तव्य बनाउने हिसावले शौचालय, खानेपानी तथा विजुली वत्तीको व्यवस्था सहितको पिकनिक स्पटको निर्माण गरिएको होमस्टेका सचिव रतनसिंह गुरुङले बताउनुभयो ।
महोत्सवमा कलाकार गोरे गुरुङ, माया गुरुङ, सविना गुरुङ, टसबहादुर गुरुङ, गजेन्द्र गुरुङ, संगीता गुरुङ, राजबहादुर गुरुङ, प्रिया गुरुङ, अनुज अधिकारीलगायत कलाकारको बेजोड प्रस्तुति रहेको छ । महोत्सवमा युवा क्लव, आमा समूहका नाच, कृष्ण चरित्र, घाँटु, सारंगीलगायत पौराणिक नृत्यहरु प्रदर्शन गरिएका छन् ।
महोत्सवको उद्घाटनसत्रमा नेकपा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका आनन्द सुवेदी, वडा नं. ५ का वडाअध्यक्ष गीत बहादुर गुरुङ, पर्यटन व्यवसायी बोबरजंग गुरुङ, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख नवीन पोख्रेललगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, पूर्वउपाध्यक्ष कुमारीमुनी गुरुङ, लमजुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतबहादुर विष्ट, नेकपा एमाले बेंसीशहर नगर कमिटी अध्यक्ष राजकुमार विष्टलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस