संचारगृह र पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारीबिरुद्ध लमजुङका पत्रकारहरुद्वारा प्रदर्शन
लमजुङ ।
पछिल्लो समय संचारगृह र पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले विरोध प्रदर्शन गरेको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अगुवाइमा पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा पत्रकारहरूले ‘सामूहिक गिरफ्तारी गर’ भन्दै सार्वजनिक आह्वानसमेत गरेका छन्। पत्रकार माथि हुने गिरफ्तारी, धरपकड तथा सञ्चारमाध्यममाथिको हस्तक्षेपले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती थपिएको भन्दै महासंघले विरोध जनाएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण केसीले सरकारलाई सहयोग गरेर अगाडी बढ्न चाहेपनि सरकारले त्यो वातावरण नदिएको र मिडियामा धरपकड बढाईरहेको आरोप लगाउनुभयो । समाचार लेखेकै भरमा पत्रकार गिरफ्तार गर्ने सरकारको प्रवृत्तिले त्रास सिर्जना गरेको उल्लेख गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य जनक श्रेष्ठले रहरले भन्दा पनि बाध्यताले आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । पत्रकारीता पेसाको रक्षाका लागि आन्दोलनमा उत्रनुपरेको बताउँदै सरकारको हस्तक्षेप बन्द हुनुपर्ने बताउनुभयो । आफूहरु सामुहिक रुपमा गिरफ्तार हुन तयार भएको समेत उहाँको भनाई थियो ।
विरोध प्रदर्शनमा सहभागी पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय लमजुङमा लोककल्याणकारी विज्ञापन फिर्ता गर, पत्रकारलाई गिरफ्तार गर्न पाईँदैन, मिडियाको हक खोस्न पाईदैन, संचारगृहमाथीको घेराबन्दी अन्त्य गर, प्रेस स्वतन्त्रताको रक्षा गर लगायत मागहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा लमजुङमा रहेर विभिन्न संचारगृहमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।








प्रतिकृया दिनुहोस