आज : Monday, November 23, 2026 | २०८३ मङ्सिर ८ सोमबार

दर्शकहरुको उत्साहजनक सहभागितामा खुदीमा १० दिने हरिबोधनी ठूली एकादशी मेला सुरु 

लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा आयोजित ऐतिहासिक हरिबोधनी ठूली एकादशी मेला–२०८३ को पहिलो दिन भव्य रूपमा सम्पन्न भएको छ । धर्म, संस्कृति, परम्परा, कला, कृषि र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा स्थानीयवासी तथा छिमेकी पालिकाका बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो ।

खुदी युथको आयोजनामा भएको मेलाको पहिलो दिन मंसिर ४ गते विभिन्न धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए । खुदी युथका अध्यक्ष विशाल रावलको अध्यक्षता तथा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडाध्यक्षहरू, जनप्रतिनिधि, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

मेलाको पहिलो दिन फूलको डोली तार्ने, भजन–कीर्तन, एकादशी सांस्कृतिक साँझ, खुला छेलो प्रतियोगिता तथा कृषि प्रवर्द्धन र स्थानीय उत्पादनको खरिद–बिक्रीसम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो । सांस्कृतिक कार्यक्रमअन्तर्गत लोकप्रिय गायक अर्जुन सापकोटा र प्रशान्त तामाङले विशेष सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले मेलामा सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमको रौनक थप बढाएको आयोजकले जनाएको छ । मेलाले खुदीसहित समग्र मर्स्याङ्दी गाउँपालिकाको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्ने अपेक्षा गरिएको छ । साथै स्थानीय कला, प्रतिभा, कृषि उत्पादन, खेलकुद र पर्यटन प्रवर्द्धनमा समेत मेलाले योगदान पुर्‍याउने विश्वास आयोजकको छ । मेलाअन्तर्गत मंसिर ५ गते निःशुल्क मिर्गौला परीक्षण शिविर र मर्स्याङ्दी गाउँपालिकास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।

त्यस्तै, मंसिर ६ गते पनि गाउँपालिकास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिता जारी रहनेछ । यसैगरी मंसिर ७ गते खुदी खेलमैदानमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिने कार्यक्रम रहेको छ । मेलालाई सफल बनाउन सहयोग गर्ने आयोजक खुदी युथ, सहयोगी संस्था, प्रायोजक, कलाकार, खेलाडी, कृषक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्वयंसेवकलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ । साथै गाउँपालिकाले मेलाका बाँकी कार्यक्रमहरूमा पनि सहभागी भई मौलिक संस्कृति संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन तथा खेलकुद र पर्यटन विकासमा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ ।  
 

प्रतिकृया दिनुहोस