आज : Sunday, October 18, 2026 | २०८३ कार्तिक २ आइतबार

लमजुङ दरबारमा फूलपाती भित्र्याइयो, कालिका मन्दिरमा सुरक्षा निकायबाट सलामी अर्पण

लमजुङ ।
बडादसैँअन्तर्गत फूलपातीका अवसरमा आज लमजुङको बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबारमा फूलपाती भित्र्याइएको छ। नेपाली सेनाले बेँसीसहरबाट फूलपाती तथा बाजागाजासहित गाउँसहर दरबारमा फूलपाती भित्र्याएको हो।

फूलपातीको विशेष अवसरमा गाउँसहरस्थित कालिका भगवती मन्दिरमा जिल्लामा रहेका सुरक्षा निकायले विधिवत् रूपमा सलामी अर्पण गरेका छन्। श्री चण्डीप्रसाद गण सिरिस्वाँरा, जिल्ला प्रहरी कार्यालय लमजुङ तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म रानीकुवाबाट संयुक्त रूपमा सलामी अर्पण गरिएको हो।

सलामी अर्पण समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रमुख सेनानी विक्रमदेव थापा, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीलगायत सुरक्षा अधिकारी, जनप्रतिनिधि, पुजारी परिवार, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।

समारोहपछि स्थानीयले यस वर्ष लमजुङ दरबार तथा कालिका मन्दिर परिसरमा नयाँपन, उल्लास र उत्साह थपिएको अनुभूति गरेका छन्। दसैँको सांस्कृतिक तथा धार्मिक महत्त्व झल्काउने फूलपाती भित्र्याउने परम्पराले गाउँसहर क्षेत्रमा पर्वको रौनक बढाएको छ।

राजपरिवारको कुलदेवीदेखि जनकल्याणको कामनासम्म
ऐतिहासिक महत्त्व बोकेको लमजुङ दरबारस्थित कालिका भगवती मन्दिरमा कुनै समय राजपरिवारको हित र कल्याणको कामना गर्दै पूजा गर्ने परम्परा थियो। अहिले भने यहाँ नेपाली जनताको सुख, शान्ति, समृद्धि र देशको कल्याणको कामना गर्दै पूजा आराधना गरिन्छ। पूजाको सङ्कल्प परिवर्तन भए पनि पुस्तौँदेखि चल्दै आएका धार्मिक विधि र परम्पराले निरन्तरता पाएका छन्।

बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित मन्दिरका मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मन्दिरमा विशेष पूजा गरिन्छ। पहिले राजाको हितको कामना गर्दै पूजा गर्ने परम्परा रहेकामा अहिले देश र जनताको कल्याणलाई प्राथमिकता दिइने गरिएको उहाँले बताउनुभयो।

मन्दिरमा कालिका भगवतीको आराधनासँगै महाकाली, महालक्ष्मी, महासरस्वती, ब्रह्मा, विष्णु, महेश्वर, दश अवतार, चिरञ्जीवी, गोरखनाथ तथा चण्डीदेउरालीलगायत देवीदेवताको स्मरण गर्दै पूजा गर्ने परम्परा छ।

स्थानीय धार्मिक मान्यताअनुसार लमजुङ कालिकालाई जेठी, गोरखा कालिकालाई माइली, उदिपुर कालिकालाई साइँली र बागलुङ कालिकालाई कान्छी मान्ने चलन छ। यी चार कालिका मन्दिरलाई दिदीबहिनीका रूपमा जोडेर हेर्ने जनविश्वास रहेको मुख्य पुजारी बरालले बताउनुभयो।

विसं १५५० देखि जोडिएको धार्मिक इतिहास
गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार कालिका भगवती तत्कालीन शाह राजपरिवारकी कुलदेवी हुनुहुन्थ्यो। विसं १५५० मा यशोब्रह्म शाह लमजुङका राजा बनेपछि गाउँसहर दरबारसँगै कालिका मन्दिर स्थापना गरी कुलदेवीका रूपमा पूजा गर्ने परम्परा सुरु भएको मानिन्छ।

बोहोराका अनुसार राजपरिवारको समयदेखि चलिआएको पूजाको उद्देश्य समयक्रमसँगै परिवर्तन भए पनि परम्परागत विधि र धार्मिक आस्था भने कायम छन्।

यस मन्दिरमा दसैँका अवसरमा फूलपाती भित्र्याउने विधिलाई विशेष महत्त्वका साथ मनाइन्छ। नेपाली सेनाको सहभागितामा बाजागाजासहित फूलपाती भित्र्याउने तथा सुरक्षा निकायबाट सलामी अर्पण गर्ने कार्यक्रमले ऐतिहासिक दरबार र मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई थप उजागर गरेको छ।

नवरात्रको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिने वैदिक परम्पराअनुसार देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा विशेष पूजाआजा भइरहेका बेला गाउँसहरस्थित कालिका भगवती मन्दिरमा पनि दसैँको धार्मिक र सांस्कृतिक उत्सवले विशेष रौनक थपेको छ। 

प्रतिकृया दिनुहोस