नगरप्रमुख अर्यालको उपस्थितिमा बेसीसहर–२ मा फोहोर प्रशोधन केन्द्रबारे छलफल
लमजुङ ।
बेसीसहर नगरपालिका वडा नं. २ मा फोहोरमैला व्यवस्थापनका लागि प्रशोधन केन्द्र (डम्पिङ साइट) स्थापना गर्ने विषयमा छलफल भएको छ। छलफलका क्रममा स्थानीय सरोकारवालाहरूले प्रशोधन केन्द्र स्थापनासम्बन्धी निर्णय लिनुअघि वातावरणीय अध्ययन, प्राविधिक विज्ञको सुझाव र स्थानीयवासीको भावनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर बेसीसहर नगरपालिका वडा नं. २ कार्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा वडाको सेवा प्रवाह, विकास निर्माणका योजनाको प्रगति तथा नगरको फोहोरमैला व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
वडाध्यक्ष मदन रानाका अनुसार कार्यक्रम बेसीसहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख पद्मा गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाबाट प्रवाह भइरहेका प्रशासनिक सेवा, विकास निर्माणका योजनाको कार्यान्वयन अवस्था तथा नगरको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन आधुनिक प्रशोधन केन्द्र स्थापना गर्ने सम्भावित योजनाबारे जानकारी गराइएको थियो। छलफलमा सहभागी स्थानीय अगुवा तथा सरोकारवालाहरूले फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने विषय वातावरण र स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिने भएकाले पर्याप्त अध्ययन र परामर्शपछि मात्र आवश्यक निर्णय लिनुपर्ने धारणा राखेका थिए।
उनीहरूले योजनाको प्रक्रिया अघि बढाउँदा स्थानीय नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिएका थिए। कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितिका अध्यक्ष तथा वडा नं. २ का स्थानीय अगुवा र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।



.jpeg)



प्रतिकृया दिनुहोस