छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न
लमजुङ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको तार्कुकोटको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ।
७ किलोमिटर दूरीको उक्त प्रतियोगितामा तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ प्रथम हुनुभएको छ। उहाँले निर्धारित दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभयो। त्यसैगरी, खोटाङ गाउँपालिका–६ का धिरन राईले ३६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गर्नुभयो भने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ का पृथ्वी राईले ३६ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै तृतीय स्थान हासिल गर्नुभयो। गोरखाको पालुङटार नगरपालिका–३ का सरोज गिरीले ३८ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै सान्त्वना स्थान हासिल गर्नुभयो।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने धावकलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबैभन्दा कान्छा प्रतिस्पर्धी १३ वर्षीय सुन्दरबजार नगरपालिका–८ का सुगम पहारीलाई प्रोत्साहनस्वरूप नगद एक हजार रुपैयाँ प्रदान गरिएको थियो।
लमजुङ, तनहुँ, गोरखा, ओखलढुंगा, खोटाङलगायत जिल्लाका २४ जना धावक सहभागी प्रतियोगिताको उद्घाटन सुन्दरबजार नगरपालिका–८ भोटेवडारस्थित डिडिसी खेलमैदानमा गरिएको थियो। उद्घाटन कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक तिलकबहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो।
तार्कुकोटमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा आयोजक अकला युथ क्लबका अध्यक्ष अभिषेक ढकाल, सुन्दरबजार नगरपालिका–८ का वडाध्यक्ष बिजेन्द्र थापा, वडा नं. ९ का वडाध्यक्ष मनराज गुरुङ, वडा नं. ८ का पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, वडा सदस्य केशरबहादुर कुँवर, कार्यक्रम संयोजक सुलभ ढकाल तथा एथलेटिक्सका राष्ट्रिय खेलाडी राजेन्द्र कुँवरलगायतले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रमको अवसरमा आयोजक अकला युथ क्लबले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित अनुज अधिकारी, वडाध्यक्ष बिजेन्द्र थापा, पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, एथलेटिक्सका राष्ट्रिय खेलाडी राजेन्द्र कुँवर तथा स्थानीय निश्चल ढकाललाई सम्मान गरेको थियो। साथै, क्लबलाई आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक सुलभ ढकालले जानकारी दिनुभयो।
तार्कुकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।



.jpeg)



प्रतिकृया दिनुहोस