अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसः सुन्दरबजार ८ मा जेष्ठ नागरिकहरुको निःशुल्क आँखा जाँच
लमजुङ ।
‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने मूल नाराका साथ आज ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस लमजुङसहित नेपालमा पनि विविध कार्यक्रम गरी मनाईएको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा लमजुङको सुन्दरबजार नगरपालिका–८, अकलामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। एकीकृत सेवा कार्यालय, लमजुङको आयोजना तथा ज्येष्ठ नागरिक समाज, सुन्दरबजार–८ को सहकार्यमा असोज १५ गते कार्यक्रम गरिएको हो।
दिवसको अवसरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३२ महिला र २६ पुरुष गरी ५८ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको थियो। शिविरमा भोटेओडार आँखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो भने सिर्जनशील सामुदायिक सिकाइ केन्द्र, सुन्दरबजार–८ ले औषधि उपलब्ध गराएको थियो।
कार्यक्रममा सुन्दरबजार नगरपालिका–८ का वडा अध्यक्ष विजेन्द्र थापाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नागरिकका समस्या समाधान गर्नकै लागि आफूहरूलाई जनप्रतिनिधिका रूपमा निर्वाचित गरिएको भन्दै नागरिकको सेवामा सधैँ जिम्मेवार रहने बताउनुभयो। एकीकृत सेवा कार्यालय, लमजुङका प्रमुख ठाकुरप्रसाद ढकालले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक, इतिहास र सभ्यताका धरोहर तथा पुस्तान्तरणका आधार भएको बताउनुभयो।
कार्यक्रममा रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, योग प्रशिक्षक यज्ञप्रसाद घिमिरे र भोटेओडार आँखा उपचार केन्द्रका प्रमुख श्रीप्रसाद ढकाललगायतले मन्तव्य राख्नुभएको थियो। ज्येष्ठ नागरिक समाजका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वसन्तराज खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव शेरसिंह कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकका लागि भजन तथा योग अभ्याससमेत गराइएको थियो।








प्रतिकृया दिनुहोस