आज : Wednesday, September 02, 2026 | २०८३ भदौ १७ बुधबार

लमजुङ प्रशासनकी नायब सुब्बा नेत्रकाशी गुरुङ साउन महिनाको उत्कृष्ट कर्मचारी घोषित

लमजुङ ।
जिल्ला प्रशासन कार्यालय लमजुङकी नायब सुब्बा नेत्रकाशी गुरुङ साउन महिनाको उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ । कार्यालयको स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखामा कार्यरत गुरुङलाई मंगलबार उत्कृष्ट कर्मचारी घोषणा गरेको हो।

क्व्होलासोथार गाउँपालिका–२ मालिङ घर भएका गुरुङले कार्यालयको स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखामा रहेर सेवा प्रवाह तथा प्रशासनिक काममा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । कार्यालयले कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको लगनशीलता, अनुशासन र सेवाप्रतिको योगदानलाई आधार मानेर उनलाई साउन महिनाको उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरेको जनाएको छ।

उत्कृष्ट कर्मचारी घोषित गुरुङलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मंगलबार प्रशंसापत्र प्रदान गर्नुभयो । प्रशंसापत्र प्रदान गर्दै प्रजिअ खनालले कर्मचारीको मेहनत र जिम्मेवारीप्रतिको प्रतिबद्धताको मूल्यांकनले कार्यालयमा सकारात्मक कार्यसंस्कृति विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्यले उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसले कर्मचारीलाई आफ्नो जिम्मेवारी थप प्रभावकारी रूपमा निर्वाह गर्न प्रेरणा मिल्ने कार्यालयको विश्वास छ। प्रशंसापत्र प्रदान कार्यक्रममा कार्यालयका सूचना अधिकारी नवराज शर्मा दोरङ्गा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनालगायत कर्मचारीको उपस्थिति थियो।   

प्रतिकृया दिनुहोस