मर्स्याङ्दी करिडोरका विभिन्न स्थानमा बाढीको पूर्वसूचना दिन अत्याधुनिक साईरन प्रणाली जडान
लमजुङ ।
लमजुङको मर्स्याङ्दी नदीमा आउन सक्ने बाढी तथा जोखिमपूर्ण अवस्थाबाट स्थानीय नागरिकलाई समयमै सचेत गराउन मर्स्याङ्दी करिडोरका विभिन्न स्थानमा अत्याधुनिक सेन्सर तथा साइरन प्रणाली जडान गरिएको छ। दिव्यज्योति हाइड्रोपावर लिमिटेडले मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाअन्तर्गत प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा केही महिनाअघि नै उक्त प्रणाली जडान गरेको हो।
जडान गरिएको प्रणालीले नदीको पानीको सतह तथा आयोजनासँग सम्बन्धित संवेदनशील अवस्थाको निरन्तर निगरानी गर्नेछ। पानीको सतह पूर्वनिर्धारित जोखिमको तहमा पुगेपछि सेन्सरले स्वचालित रूपमा प्रणाली सक्रिय गरी साइरन बजाउने व्यवस्था गरिएको छ। यसबाट आयोजना परिसरमा कार्यरत कर्मचारीसँगै नदी आसपासका बस्तीका नागरिकले समयमै श्रव्य चेतावनी पाउनेछन्।
पूर्वसूचना प्राप्त भएपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ जान तथा उद्धार र आपत्कालीन प्रतिकार्यका लागि आवश्यक तयारी गर्न पर्याप्त समय उपलब्ध हुने अपेक्षा गरिएको छ।
भुलभुले, सिमलचौर, खुदी, सिम्पानी, बेलौती–बिसौनी, चनौटे, भोटेफाँट तथा बेँसीसहर आसपासका जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ। प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै पूर्वसूचना र सचेतनाबाट सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने भएकाले यस्तो प्रणाली महत्वपूर्ण मानिन्छ।







प्रतिकृया दिनुहोस