राहत रकमबारे सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै रास्वपा लमजुङद्वारा छानबिन र आवश्यक कारबाहीको माग
लमजुङ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले राहत रकमसम्बन्धी विषयमा भ्रम फैलाउनेमाथि कारबाही गर्न माग गरेको छ। रास्वपा लमजुङका सभापति अशोक सापकोटाले मंगलबार जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारीसमक्ष पत्र पठाउँदै घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको हो ।
पार्टीले प्रधानमन्त्री राहत कोषमा राहत रकम जम्मा गर्न सरकारले आधिकारिक बैंक खाता र क्यूआर सार्वजनिक गरिसकेको अवस्थामा विभिन्न व्यक्तिले नक्कली क्यूआर तथा बैंक खाता बनाएर ठगी गर्ने र अरूको बदनाम गर्ने गतिविधि भइरहेको पत्रमा दाबी गरिएको छ । यही सन्दर्भमा लमजुङको भोटेओडार एफएममा कार्यरत बसन्तबहादुर थापाले आफूले भोटेकोशी बाढीपीडितका लागि पठाएको राहत रकम रास्वपाको बैंक खातामा जम्मा भएको भन्दै सामाजिक सञ्जालमा पार्टीमाथि आरोप लगाएको रास्वपाको भनाइ छ।
पार्टीले उक्त सामग्रीले रास्वपाको प्रतिष्ठामा आँच पुर्याउने गरी लाञ्छना लगाइएको आरोप लगाएको छ। थापाले पार्टीले बदनियतपूर्वक काम गरेको भन्दै सामाजिक सञ्जालमा लेखेर पार्टीको बदनाम हुने गरी सामग्री राखेको रास्वपाको आरोप छ।
यस विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। रास्वपाले राष्ट्रिय विपद्को समयमा पार्टी वा यसका कुनै नेता तथा कार्यकर्ताबाट यस्तो अनधिकृत काम हुन नसक्ने स्पष्ट पारेको छ। पार्टीलाई बदनाम गराउने अपराधिक मानसिकता भएका व्यक्तिबाट यस्तो काम भएको हुन सक्ने आशंका पनि रास्वपाले गरेको छ।







प्रतिकृया दिनुहोस