अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सघाउन मर्स्याङ्दी गाउँपालिकाले कुखुरापालन कार्यक्रम सञ्चालन गर्ने
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरुको आयआर्जन वृद्धि गर्नका लागि कुखुरापालन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता भएका तथा स्वावलम्बी समूहमा रहेका मानसिक समस्या भएका व्यक्तिका लागि कुखुरापालन कार्यक्रम सञ्चालन गर्न लागेको हो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश गौतमद्वारा जारी सूचना अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्नेछ।
आवेदनसँगै निवेदन, अपाङ्गता परिचयपत्रको ‘ग’ वा ‘घ’ वर्गको प्रतिलिपि र नागरिकता वा जन्मदर्ताको प्रतिलिपि पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।









प्रतिकृया दिनुहोस