आज : Wednesday, September 02, 2026 | २०८३ भदौ १७ बुधबार

पत्रकार वासुदेव थापामाथि रास्वपाले गरेको कारबाही मागप्रति पत्रकार महासंघ लमजुङको आपत्ति 

लमजुङ । 
नेपाल पत्रकार महासंघ लमजुङ शाखाले पत्रकार तथा रेडियो भोटेओडारका स्टेशन प्रमुख वासुदेव थापामाथि प्रशासनिक कारबाहीको माग गरिएको घटनाप्रति आपत्ति जनाएको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

थापामाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, लमजुङमा निवेदन दर्ता गराइएको महासंघले जनाएको छ।महासंघका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर कोड परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा को क्यूआर कोड बनाइएको विषय सार्वजनिक भएको छ। यसै क्रममा पत्रकार थापाले राहत कोषमा रकम जम्मा गर्ने क्रममा प्राविधिक रूपमा रास्वपाको खातामा रकम स्थानान्तरण हुन पुगेको विषय गम्भीर र खोजीको विषय बनेको महासंघले जनाएको छ।  

नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सचिव कृष्ण आलेको हस्ताक्षर रहेको विज्ञप्तिमा डिजिटल प्लेटफर्ममा देखिएको प्राविधिक त्रुटि वा झुटो क्यूआर लिंकको वास्तविकता छानबिन गर्नुपर्ने जनाईएको छ। सत्यतथ्य बाहिर ल्याउनुको साटो थापाले ‘पार्टीलाई बदनाम गराउने नियत राखेको’ भन्दै रास्वपा लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत कारबाही माग गर्नु निन्दनीय र आपत्तिजनक भएको महासंघको ठहर छ। 

महासंघले कुनै पनि विषयमा नागरिक वा सञ्चारकर्मी अलमलमा पर्नु वा प्राविधिक भ्रमको सिकार हुनु अपराध नभएको जनाएको छ। यस्ता गम्भीर डिजिटल गडबडीमा निष्पक्ष छानबिन गरी सत्यता सार्वजनिक गर्नु राजनीतिक दल र प्रशासनको दायित्व भएको महासंघले बताएको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ। पत्रकार  थापामाथि लगाइएका कपोलकल्पित आरोप तत्काल फिर्ता लिन पनि माग गरेको छ। थापालाई निर्बाध रूपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ।

सामाजिक सञ्जालमा क्यूआर कोड परिवर्तन गरी आर्थिक रकम दुरुपयोग वा भ्रम फैलाइएको विषयमा गम्भीर डिजिटल अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न महासंघले लमजुङ प्रशासन र नेपाल सरकारका सम्बन्धित निकायसँग अपिल गरेको छ। महासंघले प्रेस स्वतन्त्रताविरोधी गतिविधि नरोकिएमा कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।  

प्रतिकृया दिनुहोस