भोटेकोसी बाढीपीडितलाई मर्स्याङ्दीका जनप्रतिनिधिले आधा महिनाको सुविधा सहयोग गर्ने
लमजुङ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत दिन मर्स्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिहरूले आफ्नो आधा महिनाको सेवा–सुविधा सहयोग गर्ने भएका छन्।
गाउँपालिकाले जारी गरेको अपिलमा बाढीपीडितको दुःखमा स्थानीय सरकार साथमा रहेको जनाएको छ। जनप्रतिनिधिहरूले आफ्नो आधा महिनाको सेवा–सुविधा नेपाल सरकारको आधिकारिक कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
गाउँपालिकाले बाढीबाट प्रभावित वा सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण पालिकामा उपलब्ध गराउन आग्रह गरेको छ। यसबाट प्रभावितको पहिचान गरी राहत वितरण गर्न सहज हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले विपद्को समयमा राहतका लागि सहयोग गर्न संघ–संस्था, समाजसेवी, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई पनि अपिल गरेको छ। सहयोग रकम नेपाल सरकारको आधिकारिक कोषमा मात्र जम्मा गर्न आग्रह गरिएको छ।
गाउँपालिकाले बाढीपीडितको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सबै मिलेर सहयोग गर्न आग्रह गरेको छ। “शोकलाई शक्तिमा बदलौँ, राहत र पुनःस्थापनामा जुटौँ” भन्ने सन्देशसहित गाउँपालिकाले विपद्पीडितको साथमा रहने प्रतिबद्धता जनाएको छ।








प्रतिकृया दिनुहोस