आज : Tuesday, August 25, 2026 | २०८३ भदौ ९ मंगलबार

मध्यनेपाल-१ सप्तधारामा जिता तिज मेला २०८३ हुँदै, तयारी तीव्र

लमजुङ ।
लमजुङको मध्यनेपाल नगरपालिका–१, जिता सप्तधारामा आयोजना हुने जिता तीज मेला २०८३ को तयारी तीव्र पारिएको छ। महिला सम्मान तथा सांस्कृतिक उत्थान कार्यक्रमअन्तर्गत हरितालिका तीजको अवसरमा यहि भदौ २८ र २९ गते मेला आयोजना गर्न लागिएको हो।

मध्यनेपाल नगरपालिका–१ को वडा कार्यालयको आयोजनामा हुने मेलामा खुला तीज गीत प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने छ। कार्यक्रममा गायिका  निर्जला गुरुङ, मिना लामा, गायक विवेक धिताल तथा बाल कलाकार स्पन्दन गिरी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।

तीज गीत प्रतियोगितामा प्रथम हुने समूहले ५५ हजार रुपैयाँ, दोस्रोले ३५ हजार, तेस्रोले २० हजार र सान्त्वना पुरस्कारस्वरूप ६ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट नृत्य प्रस्तुत गर्ने समूहलाई थप ४ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुने समूहले गीत तथा प्रस्तुतिमा कुनै धर्म, संस्कृति, सम्प्रदाय, राजनीतिक दल वा व्यक्तिलाई लक्षित गरी आक्षेप लगाउन नपाउने व्यवस्था गरिएको छ। एउटा समूहमा नृत्य तथा वाद्यवादकसहित बढीमा १० जना सहभागी हुनुपर्नेछ भने प्रत्येक समूहले बढीमा १५ मिनेट प्रस्तुति दिन पाउनेछ। 

स्थानीय कला र संस्कृति झल्किने पोशाक प्रयोग गर्ने समूहलाई प्राथमिकता दिइनेछ। वाद्यवादनको व्यवस्था भने सहभागी समूह आफैंले गर्नुपर्नेछ। प्रतियोगिताका लागि समूह दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ भने दर्ताको अन्तिम मिति भदौ २६ गतेसम्म रहेको छ। कार्यक्रम मध्यनेपाल नगरपालिका–१ जितास्थित सप्तधारा माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ।  

प्रतिकृया दिनुहोस