आज : Tuesday, August 25, 2026 | २०८३ भदौ ९ मंगलबार

लिस्नो साहित्यिक मन्चको सातौँ बार्षिक साधारणसभा तथा आठौँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

लमजुङ ।
लिस्नो साहित्यिक मन्च लमजुङले छन्दवादी कवि एवं साहित्यकार कमला केसीलाई नगदसहित सम्मान गरेको छ । आईतबार संस्थाको सातौँ साधारणसभा तथा आठौँ स्थापना दिवसको अवसरमा संस्थाले प्रदान गर्दै आएको कवि सम्मानमार्फत छन्दवादी कवि कमला केसीलाई नगद ५ हजार, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेको हो । 

बेशीसहर नगरपालिका वडा नं. ८ झिङ्गेखोलास्थित लक्ष्मी नारायण पुस्तकालयको भवनमा भएको कार्यक्रममा बाल प्रतिभा सम्मानमार्फत दुई जना विद्यार्थीलाई सम्मान गरिएको छ । लिस्नो साहित्यिक मन्च लमजुङले 'आमा' शिर्षकको कविता लेखनमार्फत गरेको प्रतिभा छनौट अन्तर्गत उत्कृष्ट हुने दुईजनालाई बाल प्रतिभा सम्मानमार्फत सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा यशोब्रम्हा माविकी विविशा दुलाल र युनिभर्सल एकेडेमीबाट प्राक्षा लुईटेल रहनुभएको छ । उनीहरुलाई जनही नगद रु एक हजारसहित प्रमाणपत्र र शैक्षिक सामाग्रीसहित सम्मान गरिएको हो । 

यस्तै मन्चले बाल प्रतिभा छनौट अन्तर्गत नै भएको कविता लेखनमा प्रथम हुन सफल ल्याण्ड स्टारकी आयुषा पराजुली, द्धित्तीय हुन सफल युनिभर्सल एकेडेमीका संयोग पाण्डे र तृतीय हुने अर्थली प्याराडाईजकी दिपिका मगरलाई पुरस्कृत गरेको छ । प्रतिभा छनौटमा सहभागी भएका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । 

कवि कमला केसी लगायत बाल प्रतिभाहरुलाई प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य टुकादेवी पौडेल आचार्य, लिस्नो साहित्यिक मन्चका अध्यक्ष कमला दनाई, संरक्षक वसन्त अधिकारीलगायतले सम्मानपत्र, नगद तथा पुरस्कार सामाग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमकै अवसरमा संस्थामा आबद्ध हुनुभएका नयाँ आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै यसवर्षको उत्कृष्ट समुहका रुपमा फूलबारी दिदिबहिनी समुहलाई पनि सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ टुकादेवी पौडेल आचार्यले लिस्नो साहित्य मन्चले साहित्यको पुस्ता हस्तान्तरण गर्ने कार्य सुरु गरेको बताउनुभयो । एउटै कार्यक्रममा बरिष्ठ कवि कमला केसीलाइ सम्मान गर्नु र बिद्यालय शिक्षा लिदै गरेका बालबालिकालाई कविता प्रतियोगीता गराई सम्मान गर्नुले पुस्ता हस्तान्तरण कार्य सुरु भएको पुष्टि हुने उहाँको भनाई छ । साहित्यको लिस्नोलाई माथी लैजाने काम अबको पुस्तामा सरेको उहाँको भनाई छ । प्राज्ञ आचार्यले लमजुङमा रहेका भाषा साहित्य सँग सम्बन्धित संघसंस्थाहरुलाइ माथी उठाउनका लागि स्थानीय संघसंस्थाहरुले सक्रियता देखाउनुपर्ने र त्यस कार्यमा गण्डकी प्रज्ञा प्रतिष्ठानमा आफूले पनि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उपस्थित आमा तथा दिदिबहिनी समुहका सदस्यहरुलाइ कविता, गजल, गीत,कथा तथा उपन्यासमार्फत आफ्नो मनमा लागेका कुराहरु साहित्यका रुपमा बाहिर ल्याउन समेत उहाँको आग्रह छ । 

सम्मानित व्यक्तित्व छन्दकवि कमला केसीले मन्चले प्रदान गरेको कवि सम्मानले आफूलाई थप साहित्य सिर्जना गर्नका लागि प्रेरित गरेको बताउनुभयो । समाजमा दिनप्रतिदिन बलात्कारजस्ता जघन्य अपराधका घटनाहरू बढ्दै गईरहेको भन्दै अब साहित्य सर्जकहरुले पनि यसका विरुद्ध साहित्य सिर्जना गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अध्यक्ष कमला दनाईले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संरक्षक वसन्त अधिकारीले संस्थाको गतिबिधिबारे जानकारी गराउनुभएको थियो । संस्थाले लमजुङमा साहित्य सेवाका माध्यमबाट समाज परिर्वन मात्र होईन भाषा, कलाको संरक्षण र भाषाविदहरुको सम्मान गर्दै अगाडी बढेको संरक्षक अधिकारीको भनाई छ ।  

स्थापना दिवसकै अवसरमा वरिष्ठ उपाध्यक्ष देवीदास बरालको निवासमा स्थापना गरिएको लिस्नो साहित्यिक मन्चको कार्यालय समेत उद्घाटन गरिएको छ ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष वसन्ता भट्ट, लक्ष्मी नारायण पुस्तकालयका उपाध्यक्ष सुशील चन्द्र अधिकारी, वडा नं ८ का वडासदस्य सरोज कुमार दनाइ,  कर्मदा सिर्जना मन्चका कार्यबाहक अध्यक्ष लक्ष्मी प्रसाद मिश्र, फूलबारी दिदिबहिनी समुहकी अध्यक्ष घना खड्कालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा लिस्नो साहित्य मन्चका पुर्व अध्यक्ष एवं रेडियो भोटेओडारका स्टेसन म्यानेजर वाशु थापा, सचिव दिपक पान्डेय, मन्चका सदस्य माधव थापा, गंगा गुरुङ लगायतले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । अध्यक्ष कमला दनाईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मन्चका सचिव दिपक पान्डेयले गर्नुभएको भने स्वागत पुर्वअध्यक्ष बाशु थापाले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस