मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी प्रकाशन गर्ने
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाको इतिहास, कला, साहित्य, संगीत, राजनीति, समाजसेवा तथा विकासका क्षेत्रमा योगदान पुर्याएका राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी समेटेर पुस्तक प्रकाशन गर्ने भएको छ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत जीवनी प्रकाशन कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा बुधबार सामाजिक विकास समितिका संयोजक तिलबहादुर गुरुङको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेललगायतको विशेष उपस्थिति रहेको थियो।
बैठकले मर्स्याङ्दी गाउँपालिकाको इतिहास र विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको योगदानलाई अभिलेखीकरण गर्दै “हाम्रो मर्स्याङ्दीः हाम्रो गौरव (भाग–१)” नामक जीवनी पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ।
पुस्तकमा मर्स्याङ्दी गाउँपालिकालाई जन्मथलो बनाई राजनीति, समाजसेवा, शिक्षा, स्वास्थ्य, कला–साहित्य, संगीत, खेलकुद, कृषि, उद्योग तथा सरकारी एवं गैरसरकारी सेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूको फोटोसहितको संक्षिप्त परिचयात्मक सामग्रीसमेत समावेश गरिने जनाइएको छ।









प्रतिकृया दिनुहोस