बेंसीशहरमा आधुनिक तरकारी खेतीसम्बन्धी निःशुल्क प्रशिक्षण
लमजुङ ।
लमजुङको बेंसीशहरमा आधुनिक तरकारी खेती, उत्पादन तथा बजारीकरणसम्बन्धी एकदिने निःशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आधुनिक प्रविधिको प्रयोगमार्फत तरकारी उत्पादन बढाउने, उत्पादन लागत घटाउने र उत्पादित वस्तुलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउने विषयमा प्रशिक्षण दिइएको हो ।
पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्र अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा आधुनिक प्रविधि र व्यावसायिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसका प्राध्यापक उत्सव पाण्डे र प्राध्यापक सविन कार्कीले प्रशिक्षण दिनुभएको थियो । उनीहरूले आधुनिक तरकारी खेतीका प्रविधि, उत्पादन व्यवस्थापन, माटो तथा बाली व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय र व्यावसायिक खेतीका विभिन्न पक्षबारे कृषकलाई जानकारी गराउनुभएको थियो।
प्रशिक्षकहररुले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै उत्पादनलाई बजारको मागअनुसार व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । कृषकले उत्पादन मात्र गरेर नहुने भन्दै बजारको माग, उपभोक्ताको रुचि, उत्पादनको गुणस्तर र बजारीकरणको पक्षलाई समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो । आधुनिक प्रविधिको उचित प्रयोग गर्न सके कम क्षेत्रफलबाट समेत तुलनात्मक रूपमा बढी उत्पादन लिन सकिने र कृषि पेसालाई आम्दानीको भरपर्दो स्रोत बनाउन सकिने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालयका प्रबन्धक सुवास भट्टराईले कृषि क्षेत्रमा बैंकको लगानी र बैंकिङ सेवाबारे जानकारी गराउनुभयो । उहाँले कृषकलाई व्यावसायिक कृषि उत्पादनमा जोडिन वित्तीय क्षेत्रबाट हुन सक्ने सहयोग, कृषि क्षेत्रमा बैंकको लगानी तथा आवश्यक वित्तीय सेवाका विषयमा जानकारी दिनुभएको थियो ।
कृषि क्षेत्रमा लगानीको सम्भावना बढ्दै गएको उल्लेख गर्दै भट्टराईले कृषकले आधुनिक प्रविधि र व्यावसायिक योजनासहित कृषि पेसालाई अघि बढाउन सके वित्तीय संस्थाबाट समेत आवश्यक सहयोग लिन सकिने बताउनुभयो । उत्पादनसँगै कृषि व्यवसायको वित्तीय व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
प्रशिक्षणमा सहभागी कृषकहरूले आधुनिक तरकारी खेती गर्दा आइपर्ने व्यावहारिक समस्या, उत्पादन बढाउने उपाय, बजार व्यवस्थापन तथा कृषि व्यवसायमा देखिएका चुनौतीबारे प्रशिक्षकसँग छलफल गरेका थिए । कृषकहरुले आफूले गर्दै आएको खेती प्रणालीमा नयाँ प्रविधि र ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे समेत जानकारी लिएका थिए ।
लमजुङमा तरकारी खेतीको राम्रो सम्भावना भए पनि उत्पादन, भण्डारण, बजार व्यवस्थापन र उचित मूल्य प्राप्त गर्ने विषयमा कृषकले विभिन्न समस्या भोग्दै आएका छन् । यस्तो अवस्थामा उत्पादनदेखि बजारीकरणसम्मको जानकारी एकै ठाउँमा उपलब्ध गराउने गरी गरिएको प्रशिक्षणले कृषकलाई व्यावसायिक कृषि प्रणालीतर्फ अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम आयोजक वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सका सञ्चालक निर्मलजङ घलेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सका अरुण ढकाललगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन आश गुरुङले गर्नुभएको थियो।
बेंसीशहरमा आयोजित प्रशिक्षणले कृषि उत्पादनलाई परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिकतातर्फ लैजान, आधुनिक प्रविधिको प्रयोग बढाउन र कृषकको आम्दानी वृद्धि गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने प्रयास गरेको आयोजकले जनाएको छ । उत्पादनसँगै बजारीकरणलाई पनि प्राथमिकता दिएर कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहररुले जोड दिएका छन् ।








प्रतिकृया दिनुहोस