आज : Saturday, August 15, 2026 | २०८३ श्रावण ३० शनिबार

मर्स्याङ्दी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई क्षमता विकास तालिम प्रदान

लमजुङ । 
मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई १ दिने क्षमता विकास तालिम प्रदान गरिएको छ । “सुदृढ विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा र समृद्ध मर्स्याङ्दीको अभियान” अन्तर्गत बिहिबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यतामा सो तालिम प्रदान गरिएको हो ।

विव्यस अध्यक्षहरुलाई विद्यालय व्यवस्थापन समितिको भूमिका, अधिकार तथा जिम्मेवारीबारे जानकारी गराउने, शिक्षा नीतिका चुनौती, अवरोध र अवस, विद्यालय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका उपायहरू, वित्तीय व्यवस्थापन तथा पारदर्शिता कसरी कायम गर्ने भनी जानकारी गराउने उद्देश्यले तालिम संचालन गरिएको हो । 

तालिममा सहभागीहरुलाई बेसीशहर नगरपालिकाका पूर्व शिक्षा अधिकृत रामचन्द्र त्रिपाठीले सहजीकरण गर्नुभएको थियो ।  तालिममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नं.७ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक तिलबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख वसन्त बरूवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले गर्नुभएको थियो । 

तालिमपश्चात विव्यस अध्यक्षहरुमा समितिको भूमिका र अधिकारबारे स्पष्ट बुझाइ, विद्यालय सुशासन तथा पारदर्शितामा अभिवृद्धि, शैक्षिक गुणस्तर सुधारमा सक्रिय सहभागिता तथा योजना निर्माण, अनुगमन तथा मूल्याङ्कनमा दक्षता आउने अपेक्षा गरिएको छ । तालिममार्फत शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास, समुदायको सहभागिता, विद्यार्थी सहायता तथा प्रभावकारी अनुगमन र मूल्याङ्कनलाई प्राथमिकतामा राख्दै विद्यालयको समग्र सुधारका लागि कार्ययोजना निर्माणमा जोड दिइएको छ ।

प्रतिकृया दिनुहोस