आज : Saturday, August 15, 2026 | २०८३ श्रावण ३० शनिबार

परम्परागत प्रविधि आरन, ढिंकी, जाँतो र पानीघट्ट संरक्षण गर्न मर्स्याङ्दी गाउँपालिकाको पहल

लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्र परम्परागत रुपमा संचालित आरन, ढिंकी, जातो र पानीघट्टलाई संरक्षण, व्यवस्थापन र आाधुनिकीकरण बनाउँदै लैजाने भएको छ । गाउँपालिकाले यस्ता परम्परागत प्रविधिलाई व्यवस्थित र आधुनिकीकरण गर्नको लागि आवश्यक बजेट समेत विनियोजन गरेको छ ।

गाउँपालिकाले परम्परागत प्रविधिलाई व्यवस्थित गराउन चाहने आरन, ढिंकीजातो तथा घट्ट संचालकहरुलाई सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न सूचना जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलदुवारा हस्ताक्षरित सूचनामा आगामी भदौ १५ गतेभित्र निवेदन पेस गर्न भनिएको छ । 

उक्त प्रस्तावना पत्र बुझाउँदा हस्तलिखित निवेदनको साथमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, हाल आरन, पानी घट्ट, ढिकी, जाँतो सञ्चालनमा रहेको स्थान र प्रयोगमा रहेका सामाग्रीहरू स्पष्ट देखिने फोटोहरू समावेश गर्नुपर्ने छ ।

निवेदनहरु छनौटको अधिकार मर्स्याङ्दी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालयमा रहने जनाईएको छ । 

पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै आरन, ढिंकी, जाँतो र पानीघट्टजस्ता परम्परागत प्रविधि लोपोन्मुख हुँदै गएका छन्। यी प्रविधिसँग जोडिएको मौलिक सीप, ज्ञान र संस्कृति संरक्षण गर्न लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पहल थालेको छ। गाउँपालिकाले कार्यपालिका बैठकबाट नै गाउँघरमा अझै प्रयोगमा रहेका परम्परागत प्रविधिको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि बढाएको हो। नयाँ पुस्तालाई यस्ता प्रविधिबारे जानकारी गराउँदै परम्परागत सीप हस्तान्तरणमा समेत जोड दिइने बताइएको छ।  

प्रतिकृया दिनुहोस