आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा लमजुङ प्रथम

बेसीशहरमा आयोजित गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा लमजुङ प्रथम भएको छ । जिल्ला समन्वय समिति लमजुङको सभाहलमा मंगलबार र बुधबार सञ्चालन गरिएको प्रतियोगितामा ८ स्वर्ण पदक, एक रजत पदक र ५ कास्य पदक सहित लमजुङ प्रथम भएको हो ।
प्रतियोगितामा ४ स्वर्ण पदक, ३ रजत पदक सहित गोरखा द्धितीय भएको छ । ३ स्वर्ण पदक, ३ रजत पदक र २ कास्य पदकसहित तनहुँ तृतीय बनेको छ । 
प्रतियोगितामा मुस्ताङ र मनाङ जिल्ला बाहेक गण्डकी प्रदेशका ९ जिल्लाका कराँते खेलाडीहरु सहभागी भएका थिए । गण्डकी खेलकुद परिषद पोखराको आयोजना तथा जिल्ला खेलकुद विकास समिति लमजुङको समन्वयमा पहिलो पटक लमजुङमा गण्डकी प्रदेश स्तरीय कराँते प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा बेस्ट फाइटर महिलातर्फ लमजुङकी प्रीति तामाङ प्रथम, पुरुषतर्फ गोरखाका सक्षम लामा प्रथम भएका छन् । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेता खेलाडीलाई बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, गण्डकी खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खेलकुदको विकासका लागि पूर्वाधार निर्माण महत्वपूर्ण रहेको बताउनुभयो । खेलक्षेत्रमा पर्याप्त मात्रामा पूर्वाधार विकास, प्रशिक्षकको व्यवस्थापन गर्न सकेमा उत्कृष्ट खेल प्रदर्शन गर्न उहाँले बताउनुभयो । आवश्यक पूर्वाधार, प्रशिक्षक नहुँदा नहुँदै पनि खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको उहाँले बताउनुभयो । खेलकुद स्वास्थ्य का लागि पनि राष्ट्रका लागि पनि उत्तिकै आवश्यक रहेकाले यसको विकासको लागि तिनै तहको सरकार लागिपर्नुपर्ने बताउनुभयो ।  
कराँते प्रतियोगितामा एउटा जिल्लाबाट कम्तीमा ४० जनाको दरले खेलाडी तथा प्रशिक्षकको सहभागिता हुने नियम भए पनि पुरै खेलाडी उपस्थित नभएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले खेल सञ्चालनको लागि पर्याप्त बजेट नहुँदा खेलाडी संख्या कम भएको बताउनुभयो ।
हरेक २–२ वर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक आगामी मंसिरमा हुने भएको छ । उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी हुने खेलाडी समेत यसै प्रतियोगिताबाट छनौट गरिएको छ । प्रतियोगिता अन्तर्गत महिलातर्फ ४५ किलोभन्दा कम तौल, ६१ किलोभन्दा कम तौल र ६१ किलोभन्दा माथिको तौलबीच एकल प्रतिष्पर्धा भएको थियो । महिलातर्फ नै एकल काता, समूह काता र समूह कुमिते विधामा खेल सञ्चालन गरिएको थियो । पुरुषतर्फ ५० किलोभन्दा कम तौल, ५५ किलोभन्दा कम तौल, ६० किलोभन्दा कम तौल, ६७ किलोभन्दा कम तौल, ७४ किलोभन्दा भन्दा कम तौल, ८४ किलोभन्दा कम तौल र ८४ किलोभन्दा बढी तौलबीच एकल प्रतिष्पर्धा गराइएको थियो ।

प्रतिकृया दिनुहोस