आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

चैत २५ र २६ गते १६ औँ पसगाउँ महोत्सव हुने

चैत महिनाको २५ र २६ गते १६ औँ पसगाउँ महोत्सव हुने भएको छ । पसगाउँको प्रचार प्रसार गर्ने र पसगाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्य सहित महोत्सवको आयोजना गरिएको आयोजक पसगाउँ सामुहिक होमस्टेका अध्यक्ष सुर्य प्रसाद गुरुङले बताउनुभयो । 
लमजुङ जिल्लाको क्व्होलासोंथर गाउँपालिका–६, पसगाउँवासी महोत्सवकाको तयारीमा जुटीसकेको गुरुङले बताउनुभयो । आयोजक पसगाउँ सामुहिक होमस्टेले लमजुङ सदरमुकाम बेसीशहरमा र पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराएको क्व्होलासोंथार गाउँपालिका अध्यक्ष एवं आयोजक पसगाउँ सामुहिक होमस्टेका अध्यक्ष सुर्यप्रसाद गुरुङले बताउनुभयो । 
पसगाउँमा २०६० सालदेखि महोत्सव हुँदै आएको छ । क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पसगाउँमा आन्तरिक तथा बाह्य पर्यटक बोलाउने उदेश्यले महोत्सव गर्न पसगाउँवासीहरू जुर्मुराएको बताउनुभयो । प्रकृति र संस्कृतिले धनी पसगाउँमा पर्यटकलाई स्वागत गर्न स्थानीय आतुर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक आउँदै नआउने होइनन्, हाम्रो अपेक्षा अलि धेरै सङ्ख्यामा आउन् भन्ने हो । महोत्सवबाट गाउँ चिनाउने र पर्यटक बोलाउने हाम्रो उदेश्य हो ।” 
गाउँको प्रचार हुन सके पर्यटनबाट सबैले लाभ पाउने उहाँले बताउनुभयो । पसगाउँ मात्रै नभई क्होंम्रेडाँडा, छेदोपुँ र ङ्ह्योजेलगायतमा पर्यटक पुग्दा रमाइलो मान्ने ठाउँहरू रहेको उहाँले प्रस्ट्याउनुभयो । उहाँका अनुसार स्थानीयले पर्यटन प्रवर्धनका कार्यक्रम भने २०५८ सालदेखि नै गर्दै आएका थिए । 


क्व्होलासोंथर–६, पसगाउँका वडाध्यक्ष मनलाल गुरुङले गाउँमा पर्यटकका लागि २५ घरमा होमस्टे सञ्चालन गरिएकोे बताउनुभयो । महोत्सवमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, सारङ्गीनाच, आमा समूह, यूवा समूहको पौराणिक नृत्य लगायत देखाइने छ । महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृति देखाउन महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
ढुङ्गाका छाना । घुमाउने घर । परम्परागत रहनसहन पसगाउँका विशेषता हुन् । समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिकाको सीमामा पर्छ । यहाँ करिब २ सय ५० घरधुरी छन् । गाउँमा चोबीसै घण्टा बिजुली र पानीको सुविधा छ ।


बेँसीसहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । खुदीबाट घलेगाउँ, भुजुङ हुँदै कास्कीको नागिधार, पाखुरीकोट, याङ्जाकोट हुँदै पोखरा निस्कने गुरुङ सम्पदा मार्गको एउटा गन्तव्य पसगाउँ पनि हो । बागलुङपानीबाट छुट्टिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । 
तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यही बाटो अहिले पसगाउँसम्म मोटर पुगेको छ । कास्कीको बेगनासबाट तालबेँसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने बाटा छन् । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्ने सडक छ । बेँसीसहरबाट ९ कोश टाढा पर्ने पसगाउँ पोखराबाट ४७ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिकृया दिनुहोस