आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

नेकपा (एमाले) प्रदेशसभा लमजुङ–(ख) को बैठकद्धारा चारबुँदे प्रस्ताव पारित

नेकपा (एमाले) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमजुङ–(ख) को बैठकले सीमा, विपद् जोखिम, सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै चारबुँदे प्रस्ताव पारित गरेको छ ।

बेंसीसहरस्थित एमाले जिल्ला कमिटी लमजुङको कार्यालयमा शुक्रबार बसेको बैठकले ‘सुपर अलनिनो’ का कारण सम्भावित प्राकृतिक विपद्, राष्ट्रिय सीमा सम्बन्धी विवाद, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या र मुल्यवृद्धिका विषयमा सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको हो ।

मौसमविद्हरूले यस वर्ष ‘सुपर अलनिनो’ का कारण खडेरी, अतिवृष्टि तथा हावाहुरीजस्ता विपद् बढ्न सक्ने पूर्वानुमान सार्वजनिक गरेको उल्लेख गर्दै बैठकले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी पूर्वतयारी गर्नुपर्ने जनाएको छ । नागरिकलाई पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, प्रधानमन्त्रीले संसद्मा देशको सीमा सम्बन्धी विषयमा गलत सूचना प्रस्तुत गरेको भन्दै बैठकले त्यसप्रति आपत्ति जनाएको छ । बैठकले सम्बन्धित अभिव्यक्तिप्रति आत्मालोचना गर्दै संसद्को अभिलेख सच्याउन प्रधानमन्त्रीसँग माग गरेको छ ।

बैठकले वर्षायामका बेला विस्थापित भएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सुरक्षित र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । उनीहरुको पुनःस्थापना र संरक्षणका लागि तत्काल पहल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि उपभोग्य वस्तुको भाउ बढ्दा आम नागरिक प्रभावित भएको भन्दै बैठकले मूल्यवृद्धि नियन्त्रण गर्न तथा राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

बैठकले आर्थिक तथा सामाजिक चुनौती समाधानमा सरकार प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै जनताका पक्षमा निरन्तर आवाज उठाइरहने निर्णय पनि गरेको जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमीन्द्रमान घलेले वर्तमान सरकार जनसरोकारका विषयमा संवेदनशील बन्न नसकेको आरोप लगाए । राष्ट्रियता र जनजीविकासँग जोडिएका मुद्दामा पार्टीले सदन र सडक दुवैबाट दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा नेकपा (एमाल) केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, गण्डकी प्रदेश सचिवालय सदस्य लक्ष्मीदेवी अधिकारी, पार्टी गण्डकी प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, जिल्ला कमिटी उपाध्यक्ष जितबहादुर गुरुङलगायतले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारका विषयमा धारणा राखेका थिए ।

नेकपा (एमाले) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमजुङ–(ख) का संयोजक शुभाष पौडेलको अध्यक्षतामा बसेको बैठकमा सहसंयोजक जनकराज मिश्रले स्वागत मन्तव्य राखेका थिए । बैठकको सञ्चालन सचिव कृष्ण आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस