आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

बेसीशहरमा उपभोक्ता अधिकारका सवालमा अन्तरक्रिया

सदरमुकाम बेसीशहरमा उपभोक्ता अधिकारका सवालमा सरोकारवालाहरु विच अन्तर्कृया गरिएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा सेवा प्रदायक निकाय र व्यापारी व्यवसायीलाई जिम्मेवार बनाउने र उपभोक्तालाई सचेत गराउने उद्देश्यका साथ सरोकारवालाहरु विच अन्तर्कृया गरिएको हो । 

गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको अधिकार भन्ने नाराका साथ सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा स्वच्छ र स्वस्थ बजार सिर्जना गर्ने, आपूर्ति सहज बनाउने, उपभोक्ता अधिकार बारे सुसूचित र सुनिश्चित गर्नुपर्ने, कालाबजारी, अनुचित मुल्यवृद्धि र कृतिम अभाव नियन्त्रण गर्नुपर्ने जस्ता विषयमा अन्तर्कृया गरिएको थियो। कार्यक्रममा आयोजक एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले उपभोक्ता अधिकार दिवसको इतिहास र महत्व सँगै कार्यालय बाट प्रवाह गरिने सेवाका बारेमा जानकारी गराउनु भएको थियो। सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले मार्च १५ तारिखमा उपभोक्ता अधिकार दिवस घोषणा गरेदेखि नै यो दिवस मनाईंदै आएको जानकारी गराउँदै जिल्ला स्थित कार्यालय र स्थानीय तहहरुले स्वच्छबजार निर्माण गर्न र उपभोक्तालाई सचेत एवं जिम्मेवार बनाउन काम गर्दै आएको बताउनु भयो । 

त्यसैगरी, उपभोक्ता हित संरक्षण मञ्च लमजुङका अध्यक्ष किसान संगीतले कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको बजार र उपभोक्ता अधिकारको सवालमा विविध जानकारी प्रस्तुत गर्नुभएको थियो। उपभोक्ता अधिकार, संवैधानिक तथा कानुनी व्यवस्था, बजार, सेवा प्रदायक, भौतिक पूर्वाधार, प्राकृतिक स्रोतसाधन, तिनको उपभोग र अनुगमनको अवस्था बारे जानकारी प्रस्तुतिकरण गर्नुभयो। जिल्लामा बजार अनुगमन कार्य भईरहेको तर त्यसको प्रभावकारिता कम देखिएको अवस्था उहाँले जानकारी गराउनु भयो। बजार र सेवा प्रदायक निकायले समयानुकूल जिम्मेवार हुन नसकेकाले सरोकारवाला निकायले उचित ध्यान दिनुपर्ने अवस्था रहेको पनि उहाँले बताउनु भयो ।  

कार्यक्रमका प्रमुखअतिथि घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानेले अस्वस्थ वस्तुको उपभोगले उपभोक्ता स्वास्थ्यका साथै आर्थिक लगानीमा समेत प्रभाव पार्ने भएकाले जिल्ला स्थित नियमनकारी निकाय र सरोकारवाला संस्थाहरुले चासो लिएर काम गर्नुपर्ने बताउनु भयो। सम्बन्धित निकायका विच उचित सहकार्य गरेर उपभोक्ता हित र अधिकारका सवालमा प्रभावकारी र नतिजामुखी काम गर्नुपर्ने पनि लामिछानेले बताउनु भयो। कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष नवराज पहाडी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष बसन्ता भट्ट, गैसस महासंघका सदस्य विमला हिमाली लगायतले जिम्मेवार निकायहरुको भूमिका फितलो भएको बताउनु भयो। उपभोक्ता स्वयं पनि जति सचेत र चनाखो हुनुपर्ने हो त्यस्तो हुन नसकेको सवाल उठाउँदै उपभोक्ताका विषयलाई सबै पक्षले एकजुट भएर उठाउनु पर्नेमा उहाँहरुले जोड दिनुभयो। सो अवसरमा सहभागीका तर्फबाट सुन्दरबजारका सुरेन्द्र श्रेष्ठ, बेसीशहरमा बाबुराम बोहरा, सुनिल कँडेल लगायतले स्थानीय तह देखि सम्बन्घित कार्यालय सम्मले उपभोक्ताका पक्षमा काम गर्न नसकेको भन्दै दुःखेसो पोख्नु भयो ।

एकीकृत सेवा केन्द्र लमजुङको आयोजनामा भएको कार्यक्रम लमजुङ उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ लमजुङ, उपभोक्ता हित संरक्षण मञ्च लमजुङ, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला होटल व्यवसायी संघको सहकार्यमा भएको हो। एकीकृत सेवा कार्यालयका प्रमुख मिताकुमारी थापाको संयोजकत्वमा भएको कार्यक्रममा सिर्जना अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस