साहित्यकार श्रीकृष्ण न्यौपानेको महाकाव्य ‘विषालु धरती’ प्रकाशन
आज (शनिबार) मार्च २३ विश्व मौसम दिवस । २०८० चैत १० गते ६४ औँ विश्व मौसम दिवसको अवसर पारेर साहित्यकार श्रीकृष्ण न्यौपानेले आफ्नो दसौँ कृतिका रूपमा पर्यावरणीय चेतना बोकेको महाकाव्य ‘विषालु धरती’ प्रकाशित गर्नुभएको छ ।
करिब आधा शताब्दी समयदेखि नेपाली छन्द साहित्यको जगेर्नामा क्रियाशील साहित्यकार न्याौपानेको यो दोस्रो प्रकाशित महाकाव्य हो । महाकाव्यमा दोलखा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी, साझा प्रकाशनका निवर्तमान महाप्रबन्धक एवं ऐतिहासिक छन्द कवि प्रह्लाद पोखरेल र नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान प्राज्ञ सदस्य एवं बरिष्ठ कवि, लेखक तथा समालोचक प्राध्यापक डा. देवी नेपालले भूमिका लेख्नुभएको छ । लमजुङका पूर्व प्रमुख जिल्ला अधिकारी एवं हाल प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका सदस्य लक्ष्मणबहादुर खड्काले शुभकामना दिनुभएको छ ।
११ सर्गमा विभाजित र १११७ श्लोकमा लिखित प्रस्तुत महाकाव्यमा प्रचलित, कम प्रचलित र अप्रचलित गरि १०७ वटा छन्दको प्रयोग गरिएको छ ।
प्रकृति र मानवजीवनको अन्तरसम्बन्धलाई उद्घाटन गर्ने उद्देश्यले लेखिएको ‘विषाालु धरती’ महाकाव्यमा आख्यात्मक शृङ्खलाको भन्दा वातावरणीय संवेनशीलताको बाहुल्य देखिन्छ । यहाँका प्रमुख पात्रहरू पनि प्रकृतिकेन्द्रित नै छन् र यो एक वातावरणप्रधान महाकाव्य हो ।
प्राकृतिक वरदान पाएर जन्मिएका समग्र मानवहरू नै प्राकृतिक विनाश गर्न र स्वच्छ, सफा, निर्मल, निर्दोष र अमृतमय धरतीलाई विषाक्त बनाउन लागि परेको र तिनको अदूरदर्शी बौद्धिकताका कारण आज सिंगो धरती नै विषालु बन्न पुगेको विषयलाई यस महाकाव्यले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
महाकाव्यमा भूमिका लेख्दै वरिष्ठ छन्दकवि प्रह्लाद पोखरेल ‘विषाालु धरती’ अहिले हामी बाँचिरहेको युग अर्थात् आजको प्रदूषित धरतीप्रतिको चिन्ता तथा तथ्यको धरातलमा उभिएर कविकल्पित कथ्य समेटिएको सुन्दर सिर्जना भएको बताउनुहुन्छ ।
वरिष्ठ कवि, लेखक एवं समालोचक प्रा.डा. देवी नेपाल महाकाव्यको भूमिकामा लेख्नुहुन्छ– ‘कतिपय कविहरूको सिर्जनात्मक सीमा हुने गर्दछ । फुटकर कवितामा सफल कतिपय कविहरू खण्डकाव्यसम्म पुग्दा तरल बनेका पनि देखिन्छन् भने खण्डकाव्यमा सफल कविहरू महाकाव्यसम्म पुग्दा त्यति सफल बनेका देखिँदैनन् । नेपाली फुटकर कविता र खण्डकाव्यमा दिग्विजय नै प्राप्त गरेका राष्ट्रकवि माधव घिमिरे पनि ‘ऋतम्भरा’ महाकाव्यसम्म पुग्दा तुलनात्मक रूपमा सपाट देखिनुभएको यथार्थलाई हेर्दा हरेक कविका आफ्ना सिर्जनात्मक सीमाहरू हुन्छन् भन्न सकिन्छ । जसको लक्ष्य सिर्जना मात्र हुन्छ त्यसमा गुणात्मक मूल्य पाइन्छ तर जसमा प्रयोगका लागि प्रयोग गर्ने वा इतिहास निर्माण गर्ने अघोषित महत्त्वाकाङ्क्षाले प्रवेश गर्छ त्यति बेला सिर्जना गौण र प्रयोग प्रबल हुन थाल्छ । कवि श्रीकृष्ण न्यौपानेमा भने उल्लिखित सन्दर्भहरू अलि फरक तरिकाले देखापरेका छन् । उहाँले विषयगत विविधता, भावगत सबलता, छन्दगत अनेकता र शिल्पगत नवीनतालाई अँगालेर अगाडि बढे पनि कृत्रिमतारहित अभिव्यक्ति सौन्दर्यका दृष्टिले तुलनात्मक रूपमा निकै ठुलो सफलता हासिल गर्नुभएको देखिन्छ ।’
उहाँले काव्यभित्र प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण उत्तिकै सशक्त रूपमा भएको, यहाँ पृथ्वी र आकाशलाई सजीव रूपमा प्रस्तुत गरी तिनको अलौकिक प्रेमसम्बन्धको काव्यात्मक अनुशीलन गरिएको, पृथ्वी र आकाशको दाम्पत्यबाट जन्मिएका प्रथम शिशुहरू युगेश र युगान्तीका माध्यमबाट धरतीको अपेक्षा के हो र के प्राप्ति भइरहेको छ भन्ने कुरालाई अत्यन्त स्वाभाविक रूपमा प्रस्तुत गरी मानवीय संवेगको चूडान्त स्वरूप प्रस्तुत गर्न कवि सफल हुनुभएको बताउनुभयो ।
त्यस्तै महाकाव्यलाई शुभकामना दिनुहुँदै प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमका सदस्य लक्ष्मणबहादुर खड्काले घटना भन्दा सूचना वा जानकारी प्रमुख मानेर रचिएको प्रस्तुत महाकाव्यले पर्यावरणमा पुग्दै गएको असाधारण क्षति र त्यसको भयावह परिणामबारे महत्त्वपूर्ण चेतनाको सम्प्रेषण गरेको बताउनुभयो ।
पुस्तक प्रकाशन पछि विमोचनमा खासै रुचि नराख्ने साहित्यकार न्यौपानेले ‘विषाालु धरती’ महाकाव्यको बैशाखमा विमोचन हुने र थप कृतिहरू निरन्तर प्रकाशित हुँदै जाने बताउनुभयो ।








प्रतिकृया दिनुहोस