साहित्यकार न्यौपानेको खण्डकाव्य ‘मेरो बोराङ’ प्रकाशित
लमजुङका साहित्यकार श्रीकृष्ण न्यौपानेले आफ्नो पैत्रिक थलोको गाथा बोकेको नयाँ कृति ‘मेरो बोराङ’ प्रकाशन गर्नुभएको छ ।
पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहनुभएका न्यौपानेले बाह्रौँ कृतिका रूपमा खण्डकाव्य ‘मेरो बोराङ’ प्रकाशन गर्नुभएको हो ।
करिब आधा शताब्दी समयदेखि नेपाली छन्द साहित्यको जगेर्नामा क्रियाशील साहित्यकार न्याौपानेको यो पाँचौँ प्रकाशित खण्डकाव्य हो । खण्डकाव्यमा दोलखा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी, साझा प्रकाशनका पूर्व महाप्रबन्धक एवं ऐतिहासिक छन्द कवि प्रह्लाद पोखरेलले भूमिका लेख्नुभएको छ । साथै सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले शुभकामना दिनुभएको छ । विभिन्न १० शीर्षकमा समेटिएको खण्डकाव्य शशिवदना छन्दको ३ सय २० श्लोकमा लेखिएको छ ।
आफ्नो बोराङ गाउँको सेरोफेरोलाई नै कथा र प्रकृतिलाई नै पात्र बनाएर लेखिएको खण्डकाव्यभित्र पहाडी प्रकृतिको काखमा रहेको आफ्नो सुन्दर गाउँको परिवेशलाई प्रस्तुत गरिएको छ ।
खण्डकाव्यमा भूमिका लेख्दै वरिष्ठ छन्दकवि प्रह्लाद पोखरेल साहित्यकार न्यौपानेका सिर्जनाहरूमा संख्यात्मक आधिक्य मात्रै नभएर गुणात्मक गुदी पाइने बताउनुहुन्छ । परम्परागत काव्यलेखनको शैली र प्रक्रियालाई चुनौति दिँदै नयाँ ढंगको प्रस्तुतिमा पाठकहरूलाई डुलाउने काम कविले गर्नुभएको उहाँको भनाइ छ ।
खण्डकाव्यलाई शुभकामना दिँदै सुन्दरबजार नगरपालिका लमजुङका प्रमुख कृष्णप्रसाद कोइरालाले शशिवदना छन्दमा खण्डकाव्यको निर्माण आफैँमा ऐतिहासिक कार्य भएको बताउँदै तुलनात्मक रूपमा अलिक लामा आकारका छन्दमा मात्रै काव्यात्मक संकथनले पूर्णता पाउँछ भन्ने मान्यतालाई प्रस्तुत खण्डकाव्यले चनौति दिएको बताउनुभयो ।








प्रतिकृया दिनुहोस