आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

साहित्यकार श्रीकृष्ण न्यौपानेका ३ वटा कृति एकसाथ विमोचन

पिङ्गल छन्द प्रतिष्ठान नेपाल लमजुङले छन्द दिवस २०८१ को अवसर पारेर शनिबार एकै दिन २ चरणको कार्यक्रम सम्पन्न गरेको छ ।
बेंसीशहरस्थित लक्ष्मी नारायण सामुदायिक पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा साहित्य अनुरागीहरुको भव्य जमघट थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार श्रीकृष्ण न्यौपानेबाट रचित सय छन्द (कविता संग्रह), तिम्रो गमला मसित बोल्दैन (खण्डकाव्य) र विषालु धरती (महाकाव्य) विमोचन गरिएको थियो ।
पिङ्गल छन्द प्रतिष्ठान नेपाल बेसीशहर नगरमञ्चका अध्यक्ष रणबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, वरिष्ठ समालोचक, लेखक, सर्जक कवि एवं छन्दगुरु प्रा.डा. देवी नेपाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक खेमराज शर्मालगायतले पुस्तकको विमोचन गर्नुभएको थियो ।
विमोचित कृतिमाथि समीक्षा गर्दै प्रा.डा. नेपालले श्रीकृष्ण न्यौपानेका प्रकाशित कृतिहरूले संख्यात्मक दृष्टिले मात्र नभै गुणात्मक मूल्यका दृष्टिले पनि युगीन महत्व बोकेर आएको बताउनुभयो । नेपाली कविता र काव्य परम्पराको पछिल्लो प्रहरमा आशुलेखन तथा द्रुतलेखनका अद्भूत दृष्टान्त बनेर देखापरेका कवि श्रीकृष्ण न्यौपानेको अनुपम काव्यचेतना र विष्मयकारी कवित्व प्रवाह साँच्चिकै उदाहरणीय र प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।  प्रा.डा. नेपालले साहित्यकार न्यौपानेसँग एकै बसाइमा महाकाव्य लेख्ने क्षमता भएको समेत दावी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले छन्दले साहित्यलाई र साहित्यले समाजलाई मार्गदर्शन प्रदान गरी सकारात्मक बाटो देखाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक घले र सशस्त्र प्रहरी नायव उपरीक्षक शर्माले साहित्यले अभिव्यक्तिलाई सरल र सहज बनाउने बताउनु भयो ।
उक्त अवसरमा रचना वाचन तथा लेखन सीप प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा २० भन्दा बढी सर्जकले आफ्ना रचना प्रस्तुत गरेका थिए । राष्ट्रिय कलाकार लोक गायक ईश्वरी अधिकारीले गीत प्रस्तुत गर्नुभएको थियो । छन्द, कविता र त्यसको प्रयोग तथा लेखन सीपका सम्बन्धमा छन्द गुरु प्रा.डा देवी नेपालले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पछि प्रशिक्षणबाट लेखन सीपका सम्बन्धमा छोटो समयमा नै अद्भुत ज्ञान हासिल भएको सहभागीहरूको भनाइ थियो ।
औपचारिक कार्यक्रममा कार्यक्रममा प्रतिष्ठानका सदस्य यमबहादुर रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहयोगी श्यामविक्रम न्यौपानेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस