बालकाशी गुरुङलाई ‘ठाडोभाका–सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ प्रदान
कुशल कार्यक्रम प्रस्तोता, रोधिं टेलिभिजनका सञ्चालक बालकाशी गुरुङलाई ‘ठाडोभाका–सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङबेंसी ससम्रो माइत र मादी गाउँपालिका २, ताङतिङ घर भइ हाल पोखरा बस्दै आउनुभएका गुरुङ पछिल्लो समय लोकसंस्कृतिको संरक्षणमा जुट्नुभएको छ ।
ठाडोभाकाप्रति विशेष लगाव राख्नुहुने उहाँलाई ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले स्थापना दिवसका अवसरमा नगद २२ हजार २ सय २२ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।
उहाँलाई ठाडोभाका लोककला प्रतिष्ठान नेपालको ८ औं स्थापना दिवसको अवसरमा माघ २५ गते बेंसीशहरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, संरक्षक बुद्धिमान दुरा (धम्पु) लगायतले पुरस्कार, सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभएको हो ।
रोधिं टेलिभिजनबाट ठाडोभाकाको प्रचारप्रसारमा सहयोग गर्नुका साथै ३ वर्ष अघि लमजुङमा लाग्ने करापुटारको शिवरात्री मेलामा ठाडोभाकाको छायांकन गर्नुका अतिरिक्त लमजुङको नौथरमा आयोजित ठाडोभाकाको पहिलो प्रशिक्षणमा समेत भाग लिएर गायन र नृत्यमा समेत दखल राख्न प्रयासरत रहनुका साथै पोखरामा हालै आयोजित ३ दिने दिने प्रशिक्षण सञ्चालनमा समेत विशेष भूमिका निर्वाह गरेबापत ‘ठाडोभाका– ह.ने. सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ बालकाशी गुरुङलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनुभयो ।
ठाडोभाकाको गायन, बाध्यवादन तथा नृत्यमा लाग्ने नयाँ पुस्ताको प्रोत्साहनका लागि सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनुभयो । उहाँका अनुसार उक्त पुरस्कार गत वर्ष ठाडोभाकाको गोरखामा सञ्चालित कार्यक्रममा ज्यान गुमाउनुभएका ठाडोभाकाका अभियन्ता सुवे. सन्तबहादुर गुरुङको स्मृतिमा स्थापना गरिएको हो । उक्त पुरस्कार प्रतिष्ठानको स्थापना दिवसमा हरेक वर्ष ४० वर्ष कम उमेरका ठाडोभाकाका अभियन्ता १ जनालाई प्रदान गरिनेछ । पहिलोपटक पुरस्कार पाउनेमा बालकाशी गुरुङ पर्नुभएको उहाँले बताउनुभयो ।








प्रतिकृया दिनुहोस