तुर्लुङ कालिका भगवती मन्दिरमा भोलि दिव्य महाआरती हुने, तीन स्थानबाट बसको व्यवस्था
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटस्थित तुर्लुङ कालिका भगवती मन्दिरमा भोलि मंसिर १ गते मंगलबार दिव्य महाआरती आयोजना हुने भएको छ।
धर्म, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महाआरती आयोजना गर्न लागिएको हो। महाआरतीमा सहभागी भई भगवती कालिका माताको दर्शन, पूजाआराधना तथा आशीर्वाद ग्रहण गर्न आयोजकले सम्पूर्ण भक्तजन तथा श्रद्धालुहरूलाई निमन्त्रणा गरेको छ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक परम्पराको संरक्षण गर्दै सामाजिक एकता, सद्भाव र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षासहित महाआरती आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
महाआरतीमा सहभागी हुन भक्तजनको सहजताका लागि मध्यनेपाल नगरपालिका–१० बाट बसको व्यवस्था गरिएको छ। स्वाराबाट बिहान ९ बजेर ४५ मिनेटमा, डाँडाचौताराबाट दिउँसो २ बजे र गणेश मन्दिरबाट दिउँसो साढे २ बजे बस छुट्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
महाआरतीलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको सहभागिता र सहयोग आवश्यक रहेको आयोजकले जनाएको छ। महाआरतीले दुराडाँडा क्षेत्रको धार्मिक पहिचान, सांस्कृतिक संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस