मध्यनेपालमा प्रशासनको छड्के अनुगमन, ५६ लिटर पेट्रोल जफत, ११ हजारभन्दा बढीको सामान नष्ट
लमजुङको मध्यनेपाल नगरपालिकामा गरिएको बजार अनुगमनका क्रममा अवैध रूपमा बिक्रीका लागि राखिएको ५६ लिटर पेट्रोल जफत गरिएको छ । साथै म्याद गुज्रिएका तथा उपभोगका लागि अयोग्य ११ हजार ३० रुपैयाँ बराबरका सामग्रीहरु नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यनेपाल नगरपालिका वडा नम्बर ६ र ७ अन्तर्गत रामबजार तथा भोर्लेटार बजारमा छड्के अनुगमन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा १० वटा व्यवसायको निरीक्षण गरिएको थियो । अनुगमन गरिएका व्यवसायमध्ये एउटा मासु पसल र ९ वटा किराना, स्टोर्स तथा फलफूल पसल रहेका छन् ।
नजिकै तिहार पर्वलाई लक्षित गरी बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा जम्माखोरी नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयले २०८३ साल कात्तिक १८ गते जारी गरेको सूचनाबमोजिम प्लास्टिकका सामग्रीको उत्पादन, प्रयोग तथा बिक्रीवितरण नगर्न पनि व्यवसायीलाई सुझाव दिइएको छ ।
प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८३र८४ मा हालसम्म १८ पटक बजार अनुगमन गरिएको छ । तीमध्ये ९ पटक चाडपर्व लक्षित अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, मध्यनेपाल नगरपालिकाका प्रतिनिधि खिम राना मगर, उपभोक्ता हित संरक्षणका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मालगायत सहभागी थिए ।
चाडपर्वको समयमा प्लास्टिकजन्य सामग्रीको बिक्रीवितरण, खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो ।




प्रतिकृया दिनुहोस