आज : Monday, October 12, 2026 | २०८३ असोज २६ सोमबार

विश्व मानसिक स्वास्थ्य दिवसमा मोडल सिटी हस्पिटलको निःशुल्क शिविर, ५० जनाले लिए सेवा

बेँसीशहर । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा लमजुङको बेँसीशहरमा आयोजित निःशुल्क मानसिक स्वास्थ्य शिविरबाट ५० जना लाभान्वित भएका छन् ।

बेँसीशहर नगरपालिका–७ स्थित मोडल सिटी हस्पिटल प्रा।लि।को आयोजनामा सम्पन्न शिविरमा ३० जनाले मानसिक स्वास्थ्यसम्बन्धी परीक्षण तथा उपचार सेवा लिएका छन् भने अन्य २० जनाले परामर्श तथा जनचेतनामूलक सेवा प्राप्त गरेका छन्।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान, उपचार, परामर्श तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा सेवाग्राहीलाई आवश्यक स्वास्थ्य परीक्षण, प्रयोगशालासम्बन्धी सेवा तथा औषधि निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ। शिविरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका तथा नियमित रूपमा मानसिक रोगको औषधि सेवन गरिरहेका व्यक्तिहरूले समेत सेवा लिएका थिए।

मानसिक स्वास्थ्यप्रति समाजमा विद्यमान भ्रम, संकोच तथा नकारात्मक धारणालाई न्यूनीकरण गर्दै प्रभावित व्यक्तिलाई सहज रूपमा उपचार र परामर्शको पहुँचमा पुर्‍याउन शिविरले सहयोग पुग्ने विश्वास गरिएको छ।

मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण भएकाले समस्या लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्श लिनुपर्ने सन्देशसमेत कार्यक्रममार्फत प्रवाह गरिएको थियो।

शिविर सफल बनाउन विशेष सहयोग पुर्‍याउनुहुने प्राज्ञ डा। सन्देश काफ्लेलाई अस्पतालले धन्यवाद व्यक्त गर्दै उहाँको ज्ञान, अनुभव, समय र सेवाभावले सेवाग्राहीलाई आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुगेको अस्पतालले जनाएको छ।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस