आज : Tuesday, September 29, 2026 | २०८३ असोज १३ मंगलबार

मर्स्याङ्दी नदीको बहाव बढ्दो क्रममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह

लमजुङ । लगातारको वर्षाका कारण मर्स्याङ्दी नदी तथा खोलामा पानीको बहाव बढ्दोक्रममा रहेको भन्दै लमजुङ प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मनाङको ताल बजार क्षेत्रमा भारी वर्षाका कारण तल्लो भागका केही घर डुबानमा परेको तथा लमजुङको खुदी र उदिपुरस्थित ड्यामसमेत साइरन बजाउँदै खोलिएको जानकारी प्राप्त भएपछि प्रहरीले मर्स्याङ्दी नदी तथा आसपासका नदी–खोला किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

इलाका प्रहरी कार्यालय भोटेओडारका अनुसार नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक रूपमा नजान आग्रह गरिएको छ। प्रहरीले मानिस तथा पशुचौपायालाई समेत नदीको छेउछाउमा नपठाउन र नदीको पहुँचबाट सुरक्षित दूरीमा रहन अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सुरक्षित स्थानमा रहन तथा प्रहरी–प्रशासनबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरीले निरन्तर वर्षाका कारण नदी तथा खोलाको बहावमा हुने परिवर्तनलाई निगरानी गरिरहेको जनाएको छ। सम्भावित जोखिम देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस