आज : Thursday, September 17, 2026 | २०८३ असोज १ बिहीबार

अर्बुद रोग निवारण संस्थाद्वारा ४४ औं स्थापना दिवसमा समुदायमा क्यान्सर सचेतना बढाउँदै स्वास्थ्य परीक्षण

लमजुङ ।
सुन्दरबजार नगरपालिका– ९, फूलबारीमा अर्बुद रोग निवारण संस्थाको ४४ औं स्थापना दिवसका अवसरमा समुदायमा क्यान्सर सचेतनाका साथ स्वास्थ्य परीक्षण गरी मनाइएको छ । सो कार्यक्रम भदौ ३१ गते सञ्चालन गरिएको हो ।

उक्त अवसरमा क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्था, लमजुङ शाखाको आयोजना तथा HDCS–नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोग र भोटेओडार सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सहभागीहरू ४२ जनाको सामान्य स्वास्थ्य परीक्षण गर्नुका साथै क्यान्सरका रोगका बारेमा संक्षिप्त जानकारी दिने कार्य गरिएको थियो । 

नेपाल अर्बुद रोग निवारण संस्था, लमजुङका उपाध्यक्ष शोभा ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आयोजक संस्थाको संस्थागत चिनारी र गतिविधिका बारेमा जानकारी दिनु भएको थियो । HDCS– नमुना सामुदायिक अस्पतालकी मनोविमर्शदाता समेत रहनु भएकी ठकुरीले समुदायस्तरमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्दै क्यान्सरको जोखिम, रोकथाम तथा प्रारम्भिक पहिचानबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

 सोही अस्पतालका ओपीडी इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकालले क्यान्सरको जोखिम, कारक, रोकथाम, प्रारम्भिक पहिचान तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिनु भएको थियो । उहाँले कार्यक्रमले नियमित स्वास्थ्य परीक्षण र समयमै रोग पहिचानप्रति समुदायलाई थप सचेत बनाउन सहयोग पुग्ने बताउनु भयो ।
उक्त कार्यक्रममा भोटेओडार सामुदायिक सिकाइ केन्द्रको समेत सहयोग रहेको थियो ।

प्रतिकृया दिनुहोस